चियोचर्चो संवाददाता —१६ माघ

बरहथवा – सर्लाहिको बरहथवामा स्थित चक्रजनता सहिद गंगा मावि बरहथवाका विद्यार्थीहरुले नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।
विद्यालयमा नियमित अध्यापन नभएको, डेस्कबेञ्च लगायत भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिईएको भन्दै आक्रोशित विद्यार्थीहरुको समूहले नगरपालिका कार्यालयमा ढुंगामुढा सहित तोडफोड गरेका हुन् ।
तोडफोडमा उत्रिएका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गरेर तितरवितर पारेको छ । प्रहरीको लाठिचार्जबाट आधा दर्जन विद्यार्थी घाईते भएका छन् । एकजना विद्यार्थीको खुट्टा तथा अर्का एकजनाको हात भाँच्चिएको विद्यार्थीहरुले दाबी गरेका छन् ।

विद्यार्थी समूहको आक्रमणबाट कार्यालयको झ्यालको सिसा, ढोका, बाहिर राखेको दराज, गमलाहरु लगायतमा क्षति पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर भूजेलले जानकारी दिए । आक्रोसित विद्यार्थीको समुहले नगरपालिकाका प्रशासन फाँट प्रमुख कमलप्रसाद पौडेलको प्रयोग गर्दै आएको बा.२ च ९३३७ नम्बरको कार पनि तोडफोड गरेका छन् ।
विद्यार्थीहरुले शैक्षिक भ्रमणका लागि विद्यालय व्यवस्थापनसँग १ लाख २० हजार रुपैंया माग गरेका थिए । विद्यालयका प्रधानाध्यापक रामबहादुर रायलाई पटक–पटक माग राखेपनि पूरा नभएको विद्यार्थीको गुनासो रहेको छ ।
वडाध्यक्ष संजय गुप्तालाई समेत जानकारी गराउँदा समेत आफुहरुको मागको सम्वोधन नभएको उनिहरुको भनाई छ । कुनै सुनवाई नभएपछि आफूहरु आक्रोशित भएको कक्षा ११ मा अध्ययनरत विवेक गुप्ताले बताए ।
ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यवसिंह भाँटले नगरपालिका कार्यालयमा तोडफोड गरेपछि विद्यार्थीको समूहलाई सामान्य बल प्रयोग गरेर तितरबितर पारिएको बताए ।