सर्लाही,मंसिर —७ सर्लाही क्षेत्र–१ प्रदेशसभा १ तर्फ नेकपा एकीकृत समाजवादीकी नेता बेची लुंगेली डबल मतान्तरले निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी लुंगेलीले १३ हजार ६ सय ७७ मत प्राप्त गरेकी विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामाले लुंगेलीको भन्दा आधा ६ हजार ९ सय ७८ मत मात्र प्राप्त गरेकी छिन् । कुल ५८ हजार ४ सय ४८ मतदाता रहेको प्रदेश क्षेत्रमा ३८ हजार २७२ मत खसेको थियो । यहाँ नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका राजन श्रेष्ठले ५ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् ।
यस प्रदेश सभा क्षेत्रमा निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेकी लुंगेलीसँगै एमालेबाट लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर लामा र लालबन्दी वडा नं. ८ का निवर्तमान वडाध्यक्ष श्रेष्ठसहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।