सर्लाही,मंसिर -४, सर्लाहीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आईतवार (आज) भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
जिल्लाको ३१२ वटा मतदानस्थल अन्तर्गतका ६०० वटै मतदान केन्द्रमा ६२ प्रतिशत मत खसेको बताइएको छ । 
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेललेका अनुसार प्रारम्भिक विवरण अनुसार ६२ प्रतिशत मत खसेको अनुमान छ ।

उनका अनुसार जिल्लाको ३१२ वटा मतदानस्थल अन्तर्गतका ६०० वटै मतदान केन्द्रकाे विवरण आउने क्रम जारी रहेकाले राति अवेर सम्मा यथार्थ विवरण उपलब्ध गराउन सकिनेछ ।
स्थानीय तह निर्वाचनमा गोली चलेको जिल्लाको धनकौल गाउँपालिका –२ स्थित आधारभूत विद्यालय र कृषि भवन मतदान केन्द्रमा पनि शान्तिपूर्ण रुपमा मतदान सकिएको छ।
घनकाैलकाे आधारभूत विद्यालय मतदान केन्द्रमा ८६८ मतदाता मध्य ७२८ जनाले मतदान गरेकोमा विवरण प्राप्त भएको छ ।

सर्लाही क्षेत्र नं.४ मा आफुले यस अघि भने जस्तैशान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको क्षेत्र नं ४ का निर्वाचन अधिकृत शम्भु बरालले बताए । उनी मतदान केन्द्रकाे निरिक्षणका क्रममा भेटिएका थिए ।

सर्लाही क्षेत्र नं ४ का निर्वाचन अधिकृत शम्भु बराल मतदान केन्द्रकाे निरिक्षण गर्दै ।तस्बिर : कृष्ण थपलिया ।


त्यहाँ नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र म्यादी प्रहरी ठुलो संख्यामा परिचालन गरेको देखिन्थ्यो, भने हेलिकप्टरबाट पनि सुरक्षा निगरानी गरेको देखिन्थ्यो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले
जिल्ला सवै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको जानकारी दिए ।
जिल्लाकाे उत्तरी क्षेत्रमा भने मतदानको उत्साहका कमि देखिन्थ्यो । विशेषगरी सर्लाही क्षेत्र नं १ मा मुख्य राजनीतिक दलको उम्मेदवार नभएको कारण पनि मतदाताकाे उत्साहमा कमि आएको अनुमानछ । जिल्लामा चार लाख ७९ हजार ३८ जना मतदाता रहेको तथ्यांकमा उल्लेख छ ।
सर्लाहीमा चार प्रतिनिधि सभा सदस्यका लागि ६९ जना र आठ जना प्रदेश सभा सदस्यका लागि १३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन् ।