काठमाण्डौं,मंसिर—४,आज चुनावको दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सेवाका गाडी निर्बाध रूपमा चलाउन सकिने निर्वाचन आयोगले जनाएको छ ।
जसअनुसार खानेपानीको ट्याङ्कर, बिरामी बोकेको एम्बुलेन्स, दूध बोक्ने गाडी, दमकल, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले आवत जावतका लागि गाडी चलाउन आयोजले जनाएको छ ।

त्यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा सोहि प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचयपत्रवाहक सञ्चारकर्मीले पनि निर्बाध रूपमा गाडी चलाउन पाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने गाडी, यस्तै दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने गाडी,फोहोरमैला ओसारपसार गर्ने गाडी, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने गाडी, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवम्ं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको गाडी, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको गाडी, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको गाडी, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने गाडीका लागि अनुमति लिनुपर्ने व्यवस्था गरिएको अयोगले जनाएको छ ।
अपाङ्गता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता परिचयपत्रका आधारमा गाडी चलाउन सकिने आयोगले जनाएको छ ।
मापदण्ड विपरीत गाडी प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो गाडी नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्नेछ अयोगले जनाएको छ ।