कृष्ण थपलिया
हरिवन, माघ १५— नेपाली कांग्रेस हरिवन नगर समितिले बिहिवार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।हरिवन स्थित सम्राट होटलको पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउद, पूर्व मन्त्री गोविन्द बहादुर शाह लगायतले सम्बोधन गरेका छन् ।
नेताहरुले अबको चुनाबबाट कांग्रेस मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै त्यस अनुसार तयारीमा रहन कार्यकर्तालाई आग्रह गरे । लोकतान्त्रिक पार्टी भएकाले सम्मानित सर्बोच्च अदालतले गरेको फैसलालाई मान्ने समेत नेताहरुले बताएका छन् ।

न योञ्जनको सञ्चालन रहेको कार्यक्रममा पूर्व जिल्ला सभापति लक्ष्मण राय, महेन्द्र साह, पूर्व उपसभापति विनोद खनाल, पूर्व सांसद् हरेस महतो, नेता रामप्रसाद मैनाली, जिल्ला सहसचिव डोरप्रसाद भट्टराई, क्षेत्रीय सभापति पुण्यहरि घिमिरे, प्रदेश क्षेत्र नम्बर ३ ख का प्रत्यासी कृष्णदेव राय, नेपाल महिला संघकी केन्द्रीय सदस्य यशोदा चालिसे लगायतले मन्तव्य राखेका थिए ।
हरिवन नगर समितिका सभापति रामशरण उप्रेतीले स्वागत गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् । नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि साउद, विशिष्ट अतिथि शाह लगायत अबिर र माला लगाएर स्वागत गरेका थिए ।


यसैबीच, सर्लाहीको हरिवन नगरपालिकामा शुक्रवार हुन लागेको आमसभामा सहभागि हुन काँगे्रशका केन्द्रीय नेताहरु सर्लाही आउने भएका छन् । नेपाल महिला संघ सर्लाही क्षेत्र नं ३ को आयोजनामा हुन लागेको आम सभालाई सम्बोधन गर्न काँगे्रशका केन्द्रीय सदस्य डा.शेखर कोईराला, दिपक गिरी , रामकृष्ण यादव , सरिता प्रसाई, महालक्ष्मि उपाध्याय( डिना), हरि प्रिया खड्गी लगायतका केन्द्रीय नेताहरु सर्लाही आउन लागेका हुन् । शुक्रवार हरिवन चौक र भोली सुखेपोखरीमा हुने कार्यक्रममा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिईएको छ ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल कम्यूनिष्ट पार्टीभित्र फुट पछि बनेको प्रचण्ड–नेपाल समूह र नेपाली काँग्रेश लगायतका प्रतिपक्षि दलहरुले यसको विरोध गर्दै आईरहेका छन् ।