सर्लाही,कार्तिक -१३, छठको मुख्य दिन आईतवार (आज) सर्लाहीलगायत देशैभरका नदी, पोखरी, तलाउहरूमा बनाइएको छठघाटमा व्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।
निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । व्रतालुले आफ्नो मनोकांक्षा पूरा हुने बिश्वासकासाथ अस्ताउदाे सूर्यलाई अर्घ्य दिने गर्दछन् ।
कतिपय व्रत बसेका श्रद्धालुहरू आफ्नो भाकल अनुसार घर बाट निक्लेर घाट सम्म नपुगुन्जेल सडकमा लम्पसार परेर उठ्दै सूर्यलाई नमस्कार गर्दै पुनः त्यही प्रक्रिया गर्दै घाट सम्म पुगेका दृश्यहरू प्रसस्त देखिन्थे ।
भने घरका सदस्यले सूर्यलाई अर्घ्य दिने सामाग्री छठघाटमा पुर्याएका देखिन्थे । फर्कने बेलामा पनि उनीहरुले उक्त सामग्री बाेक्न सघाएको देखिन्थ्यो ।
छठकाे व्रत बस्नाले दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ । व्रतबाट पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति मिल्नुको साथै मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ ।
व्रतालुहरू भोलि बिहानै उठेर नुहाएर पुनः उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै विधिवत रुपमा छठ पर्व सम्पन्न हुन्छ । पहिले तराई मधेशमा मात्र मनाइने छठ पर्व पछिल्लो समय देशभर फैलंदै गएको छ । पछिल्लो समय छठ पर्व पहाडी र कतिपय मुस्लिम समुदायलेसमेत मनाउन थालेका छन् ।
सर्लाहीका बागमती,लखनदेही,फुल्जाेर, कालिन्जाेर,झिम,बेतिनी डुमडुमे लगायतका नदी ,पाेखरी जलाशयमा व्रतालुहरू सझिँया घाट बनाएर भजन किर्तन गरेर वसेका छन् ।