सोम दियाली/सर्लाही असोज -२७, नेपाल कराते महासंघका केन्द्रीय सचिव राष्ट्रिय खेलाडी ध्वजमान मुक्तानले संघीय संसदका लागि उम्मेदवारी दिएका छन् ।


खेलकै माध्यमबाट देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका र पछिल्लो समय भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा समेत परिचय बनाएका मुक्तानले सर्लाही क्षेत्र नम्बर १ बाट संघीय संसदको लागि स्वतन्त्रबाट उमेदवारी दिएका छन् । उनले मौरी छाप चुनाव चिन्ह प्राप्त गरेका छन् ।

सम्पूर्ण जीवन खेलमै समर्पित गरेका मुक्तान देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, कालोबजारी, बेरोजगारी, चरम गरीबी लगायतका समस्या टुलुटुलु हेरेर बस्न नसकेको भन्दै आफै चुनावमा होमिएको बताउछन् । उनले आफूले चुनाव जिते खेल क्षेत्रसहित समाजलाई सही मार्गम डाेर्‍याउन , शान्ति सुव्यवस्था कायम गर्न र विकास र समृद्धिका लागि काम गर्ने बताए ।

चियाेचर्चाेसँग कुराकानी गर्दै स्वतन्त्र उमेदवार मुक्तानले भने,‘खेल क्षेत्रबाट मैले राष्ट्रका लागि जति योगदान दिनु दिएँ । अब राजनीतिमै लागेर समाज परिवर्तन गर्न लाग्छु ।’ उनी खेलाडी मात्रै नभएर भ्रष्टाचार निवारण अभियन्ता पनि हुन । भ्रष्टाचारीहरु आफूलाई मन नै नपर्ने बताउनुहुँदै उनले भने ,‘ मैले यहाँ सम्म कि भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तकै जाखिर खाई दिएको छु । उनले भने ।,‘त्यसैले म भन्छु कि म भ्रष्टाचार गर्दिन, गर्न दिन्न र गर्नेलाई छोड्दिन ।’
उनले पछिल्लो समय दलहरुप्रति जनताको विश्वास टुटेकोले आफूले चुनाव जित्ने दाबी गर । ‘अहिले दलहरुप्रति जनताको विश्वास टुटेको छ । भ्रष्टहरुलाई मत दिँदा दिँदा जनता आजीत भईसकेका छन् । जनताले काम गर्ने मान्छे खोजेका छन् । विकास गर्ने नेतृत्व खोजेका छन् । त्यसैले म जनताका मूलभूत आवश्यकता पूरा गर्न सक्षम छु । मलाई आशा छ, यस क्षेत्रका जनताले मलाई विजयी बनाउनु हुने छ’, मुक्तानले भने ।

उनले आफू अरु जस्तो नक्कली स्वतन्त्र उमेदवार नभएको बताए । ‘अरु त पार्टीले टिकट नदिएपछि स्वतन्त्र बनेका हुन् । उनीहरु स्वतन्त्र पनि होईनन् पार्टीका बागी उमेदवार हुन् । म त कुनै पनि दलमा नलागेको शतप्रतिशत स्वतन्त्र उमेदवार हुँ । अर्थात् सक्कली स्वतन्त्र उमेदवारलाई जनताले भोट दिनुहुनेछ ।’, मुक्तानले भने।