सर्लाही,असोज- २५ ,जिल्लाकाे हरिवनमा ‘खोजौं र नष्ट गरौं’ भन्ने नाराका साथ डेंगीको संक्रमण गराउने लामखुट्टे मार्ने औषधी छिट्न सुरु गरिएको छ ।
पछिल्लो समय हरिवनसहित देशभर डेंगीको संक्रमण फैलिएको भन्दै त्यसको नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले औषधी छिट्न सुरु गरिएको हो ।
पुरै नगरलाई नै स्प्रे गर्ने अभियान अन्तर्गत पहिलो दिन आज(मंगलवार) हरिवन नगरपालिकाको वडा नम्बर ११ काे बजार क्षेत्रमाका विभिन्न स्थानहरुमा औषधी छिटिएको छ ।
औषधी छिट्न नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीसँगै वडा अध्यक्ष शेख मेहबुब रेजासंगै खटिएका छन् । उनले नगरपालिकाको एम्बुलेन्समा बसेर आफैले लामखुट्टे मार्ने औषधि छिट्न सुरु गरेका छन् ।
डेंगी रोग नियन्त्रण तथा रोकथामको प्रमुख उपाय भनेकै सर्च एण्ड डिस्ट्रोय अर्थात लामखुट्टे बस्ने वास स्थान र त्यसको लार्भा नष्ट गर्नु भएकोले औषधि छिटिएको नगर स्वास्थ्य शाखाका प्रमुख शशीकान्त सिंहले बताए ।
‘खोजौं र नष्ट गरौं’ अभियानको सुरुवात स्वरुप हरिवन बजारका विभिन्न स्थानमा औषधी छिट्ने काम गरिएको वडा अध्यक्ष शेख मेहबुव रेजाले बताए ।
खोजौंं र नष्ट गरौं अभियान नगरभरी नै सञ्चालन गर्ने तयारी गरिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले बताए।
उनले घर वरपर रहेका खाली बोटल, टायर तथा फोहोरहरु लामखुट्टेको बासस्थान भएकोले ती स्थानहरु सफा गर्नु पर्ने बताए। उनले घरमा राखिएका गमला, नावरको पानीमा समेत लामखुट्टेले फुल पार्ने भएकोले ती स्थानहरुमा पानी जम्न नदिन नगरवासीलाई आग्रह गरे।
एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट डेंगी रोग लाग्ने गर्दछ । हरिवनमा डेंगी संक्रमितहरुको यकिन तथ्यांक नभएपनि ३०/३५ जनाभन्दा बढी या घटी पनि हुन सक्ने नगर स्वास्थ्य शाखाको अनुमान छ ।