कृष्ण थपलिया
माघ १४ —मलंगवा,
सर्लाही सदरमुकाम मलंगवामा बुधबार बिहान बाट कोरोना भाईरस विरुद्धको खोप लगाउन सूरु गरिएको छ ।
मलंगवा स्थित जिल्ला अस्पताल परिसरमा अस्पतालका प्रमुख डा. संजिव सिंह सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले पहिलो पटक कोरोना भाईरस विरुद्धको खोप लगाएका हुन ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संजिव सिंह, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता केशव गौतम, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकलाई खोप लगाएर कार्यक्रम उद्घाटन गरिएको छ । त्यस्तै प्रहरी हबल्दार राजीब साह जयसवाल र ट्राफिक प्रहरी हबल्दार राजीव कुमार सिंहले पनि उक्त खोप लगाएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब क्रमशः स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, अग्रपंक्तिमा खटिने अन्य राष्ट्रसेवक कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकालाई खोप लगाईने छ ।
सर्लाहीमा ५ हजार ३०० डोज खोप आएको र खोप लगाउनका लागि जिल्ला अस्पताल मलंगवामा नै जानु पर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल जानकारी दिए ।
जिल्ला स्थित २० पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना हुन सक्ने अनुमान गरिएको छ । तथ्यांंकका आधारमा जिल्लामा कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको भए पनि ५ हजार ३०० डोजमात्र प्राप्त भएको छ ।पहिलो पटक लगाएका व्यक्तिलाई पूनः ४ हप्तापछि दोस्रो डोज खोप लगाईने छ । भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको खोप नेपालमा बुधबारबाट मुलुकभर लगाउन सूरु गरिएको हो । भारत सरकारले अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको हो ।