मनोज यादव/सर्लाही,असाेज- ११, स्थानीय तहका  महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने अभियानमा लागेकाे माण्डवी नामक गैर सरकारी संस्थाले सर्लाहीको कबिलासी नगरपालिकाका नव निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि तेस्रो मोडेलको चारदिने प्रारम्भिक प्रशिक्षण सुरु गरेकोछ ।


   आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीले कबिलासी नगरपालिकाका कार्यपालिका महिला सदस्यहरुको नेतृत्व भूमिकालाई निरन्तरता दिंदै उनीहरूको आत्मविश्वास र नेतृत्व सिपलाई अझ निखार्दै उनीहरूको भूमिकालाई अझ बढी प्रभावकारी ढंगबाट निर्वाह गर्न थप सीप र ज्ञानको विकास गर्ने उद्देश्यले  तालिमको आयोजना गरेको माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।
    तालिमको ४ दिने अवधीमा महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नको लागि चाहिने सीप र ज्ञान प्रदान गर्ने,राजनीतिक संवादमा सहभागी हुनका लागि उनीहरुमा आत्मविश्वास बढाउने,लैंगिक समानता प्रवर्द्धन गर्न आफ्नो समुदायका अन्य बालिका र महिलाहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्यगर्न प्रोत्साहित गर्न,लैंगिक समानता प्रबर्द्धन गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्न संजालको निर्माण गर्ने विषयमाहरुमा प्रशिक्षण दिइने कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिए।
   यसअघि पहिलो र दोस्रो मोडेलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका  कबिलासी न.पा अन्तर्गतका १० वटै वडाका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोडेलको तालिममा प्रशिक्षक द्वय प्रभु चौधरी र रमा कुमारी पौडेलले सहभागीहरुलाई समूहकार्य,बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली,सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत जानकारी गराउने श्रेष्ठले बताए ।
    उक्त तालिमको मंगलबार मलंगवा स्थित नवरंग होटलको सभाहलमा नगर उपप्रमुख पुनम देवी कर्णले कार्यक्रम सम्बन्धि ब्यनर वाचन गरेर उद्घाटन गरेकाे थिइन् ।