विशालराज राई /मकवानपुर,भदौ -२४, बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले संविधानले समावेशीता, समानता एवम् मौलिक अधिकारलाई सुरक्षित गरेको भएतापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।


किंरात देवास राई उत्थान समाज नेपालको हेटौंडामा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजाले आदिवासी, जनजाति, सिमान्तकृत तथा अल्पसंख्यक समूदायको हितका लागि तीनै तहका सरकारले विशेष योजना ल्याई कार्यान्वयनको चरणमा लैजानुपर्ने औंल्याए ।

राज्यमन्त्री प्रजाले यथास्थितिबादीहरुको भेदभावपूर्ण व्यवहारका कारण आजपनि समानताको उद्देश्य पूर्ण रुपमा पुरा नभएको बताए ।
विभिन्न जातजातिको लागि भाषा, भेषभूसा, कला तथा संस्कृति ठूलो सम्पती भएको उल्लेख गर्दैै उनले त्यसको संरक्षण र संस्थागत गरिनुपर्ने बताए । बागमती प्रदेश सरकारले भाषा आयोग गठन गरिसकेको बताउँदै उनले भाषा तथा लिपीको विकास गरिनेसमेत बताए ।
त्यस्तै राई समुदायको छाता संगठन किंरात राई (यायोखा) को केन्द्रीय महासचिव जनक राईले नेपाल कला, भाषा, संस्कृतिको सवालमा विश्वमा नै अब्बल रहेको र यहाँको संस्कार उत्कृष्ट भएको बताए । अनेकतामा एकता भनेझैं नेपालमा धेरै जातजाति, भाषाभाषि, वर्ण, लिङ्ग र सम्प्रदायका मानिसहरु बसोबास गर्दै आएको भएपनि उनीहरुबीच आपसी सद्भाव एवम् भाइचाराको सम्बन्ध रहेको उनले बताए ।
समाजका केन्द्रीय अध्यक्ष आस्मान राईको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजका महासचिव प्रेम राई र जिल्ला शाखा अध्यक्ष बद्रिबहादुर राईले समुदायको हितका लागि समुदायस्तर र राज्यपक्षबाट पहल आवश्यक रहेको बताए ।


अधिवेशनको पहिलो दिन शनिवार झाँकीसहितको राई समुदायको पहिचान झल्कने नाचगान प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहपूर्व झाँकीसहितको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । भोलि हुने बन्दसत्रबाट समाजको नयाँ कार्यसमिति चयन हुनेसमेत जनाइएको छ ।