सर्लाही,भदौ -२२, जिल्लाकाे लालबन्दी नगरपालिकाले मंलवार सात दिने सूचना जारी गर्दै, राजमार्ग क्षेत्रका दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न दिएको समयसिमाकाे प्रसंसासंगै आलोचना भएको छ ।
लालबन्दी नगर कार्यपालिकाको भाद्र ९ गतेको बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै नगरपालिकाले पूर्वमा फुलजोर खोलादेखि पश्चिममा लखनदेही खोला सम्म फर्ने पूर्वपश्चिम राजमार्गको दायाँबायाँ ७५ फिट सडक क्षेत्रा खाली गर्ने निर्णय गरेको हो ।
पूर्वपश्चिम राजमार्गको दायाँ बायाँ अव्यवस्थित रुपमा स्टल, ठेलागाडा, निर्माण सामाग्री राख्दा बजारको स्वरुप कुरुप भएको नगरपालिकाको ठहर छ । त्यस्तै अव्यवस्थित रुपमा राखिएका स्टल, पसल, ठेलागाडा र निर्माण सामाग्रीका कारण सडक जोखिम बढेको, शान्ति सुरक्षा लगायत दैनिक जिवनयापनमा समेत असर भएकोले मुख्य राजमार्गको दायाँबायाँका निर्माण गरिएका संरचना ७ दिनभित्र हटाउन नगरपालिकाले अनुरोध गरेको छ ।
नगर कार्यपालिकाको बैठकमा विशेषगरी नगरपालिकाको वडा नम्बर १, ६, ७ र १७ मा रहेका मुख्य बजार क्षेत्रको सडकको क्षेत्राधिकारभित्र रहेका र पूर्वपश्चिम लोकमार्गको बीचबाट दायाँबायाँ ७५ फिट भित्र राखिएका सम्पूर्ण स्टल, पसल, ठेलागाडा र निर्माण सामाग्री भाद्र २७ गते सम्ममा हटाई सक्नुपर्नेछ । नगरपालिकाले जारी गरेको सूचनाको वेवास्ता गरे प्रहरी प्रशासनको सहयोगमा सो अव्यवस्थित संरचना हटाईने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसरी हटाउँदा हुने सम्पूर्ण क्षतिको जवाफदेहिताका साथै हटाउँदा हुने खर्च समेत सम्बन्धित व्यक्तिहरुबाटै असुल उपर गरिने पनि नगरपालिकाले चेतावनी दिएको छ ।
नगरपालिकाले नगरको सौन्दर्यता अभिवृद्धि र व्यवस्थापनमा स्थानीय राजनीतिक दल, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स समेतका संघसंस्था र नागरीक समाजलाई समेत आग्रह गरेको छ ।
लालबन्दीमा सडक क्षेत्रमा बनेका संरचनाका कारण लामो तथा छोटो दुरीका सवारी साधन आवत जावतमा समेत समस्या सिर्जना हुनुकासाथै त्यसले सडक दुर्घटनाको जोखिम बढाएको मात्रै छैन बजारको सौन्दर्य समेत कुरुप बनाएको छ ।
यस्तोमा नगरपालिकाले अघि सारेको ७५ फिट सडक क्षेत्राधिकार भित्रका संरचना हटाउने निर्णय स्वागत योग्य भएपनि कतिपयले नगरपालिकाको निर्णय कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् ।
लालबन्दीका व्यापारीहरु भन्छन्, ‘नगरपालिकाले ७५ फिट खाली गर्न गरेको निर्णय ठीक भएपनि यो कार्यान्वयन हुन कठिन छ । किनकी विगतमा पनि नगरपालिकाले यस्तै निर्णय गरेर सडक क्षेत्र खाली गराएको थियो । तर त्यो लामो समय टिकेन ।’
उनीहरुले निर्णय कार्यान्वयन गर्दा सबैलाई समान व्यवहार गर्न पनि आग्रह गरेका छन् । ‘यहाँ त अनुहार हेरेर व्यवहार गरिन्छ । नजिकको मान्छे, भोट दिएको मान्छे, पहुँच भएको मान्छे हेरेर व्यवहार हुने गरेकै कारण यहाँ पटक पटक संरचना हटाएपनि त्यो सफल हुन सकेको छैन ।’ उनीहरुले भने, ‘अबको क्रममा त्यस्तो नहोस्, बजारको सौन्दर्य वृद्धि गर्न हामी पनि साथ दिन्छौं ।’ उनीहरुले मुख्य राजमार्गको मात्रै नभई भित्र सडकहरुसमेत खाली गरिनुपर्ने बताएका छन् ।
भित्र सडकहरु समेत अतिक्रमण भएको, सडकमा निर्माण सामाग्री राखिएको, विस्कुट सुकाइएको, पराल राखिएको कारण भित्र सडकहरुमा समेत दुर्घटनाको जोखिम भएको उनीहरुको दाबी छ ।
नगरपालिकाले सडकको ७५ फिटभित्रका संरचना हटाउने निर्णय गरेर सूचना जारी गरेको भएपनि कतिपय राजनीतिक दलका नेताहरु र सर्वसाधारणले समेत ८२ फिट नै खाली गराउन माग गरेका छन् । नेकपा एमालेका नेता एवम् गएको स्थानीय तह निर्वाचनमा लालबन्दी नगरपालिकामा मेयरका प्रत्यासी उमेदवार गोविन्द महतले सामाजिक सञ्जाल मार्फत नगरपालिकाले ७५ फिट खाली गर्ने भनेको भएपनि सडकको क्षेत्रा ८२ फिट हुने र ८२ फिट नै क्लियर गर्नुपर्नेमा जाेड दिएका छन् ।
नेता महतले,लालबन्दी नगरपालिका ले मिति २०७९–५ २१ मा सुचना प्रकासित गरि पुर्ब पश्चिम राजमार्ग दायाँ बायाँ ७५ फिट किलियर गर्ने जानकारी पाइयो राजमार्ग दायाँ बायाँ ८२ फिट सरकारि सडकको जग्गा हो भन्ने नगरपालिकालाई जानकारी भयकै हुनुपर्ने हो । ७५ फिट भित्र बनेका संरचना अबैध हुने ८२ फिट भित्र बनेका संरचना वैध हुने नभएकाले ८२ फिट नै खाली गराउन आग्रह गरेकाछन ।उनले सडकको दायाँबायाँ ८२ फिट किलियर गरि सुन्दर सफा लालबन्दी निर्माण गर्दै सबैलाई समान ब्यबहार गर्न आग्रह गरेका छन् ।
सूचना जारी भएपछि लालबन्दीका स्थानीय व्यवसायीहरुले पनि सडकको क्षेत्रा खाली गराउदा ८२ फिट नै क्लियर गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।