सर्लाही,भदौ -१५, पूर्व सांसद तथा समाजसेवी नरेन्द्र साहले जिल्लाको हरिवन नगरपालिका–१, कोठी खोलाका इन्द्रबहादुर घिसिङको घरमै पुगेर बुधवार (आज) खाद्यान्न सहयोग गरेका छन् ।
२०७२ सालको मनह भुकम्पमा भाग्नेक्रममा लडेर कम्मरभन्दा तलको भाग नचल्ने भई पूर्णरुपमा अशक्त भएका घिसिङको घरमै पुगेर साहले ३ बोरा चामलसहित दाल, नुन, तेललगायतका खाद्यान्न प्रदान गरेका हुन ।
इन्द्रबहादुरको परिवार बसोवास गर्ने कोठी खोला गाउँ हरिवन नगरपालिकाको दुर्गम चुरेभेगमा पर्छ । त्यहाँका वडाध्यक्ष टमबहादुर घिसिङले इन्द्रबहादुरको बिजोग अवस्थाबारे जानकारी गराएपछि आफू खाद्यान्न लिएर त्यहाँ पुगेको समाजसेवी साहले चियाेचर्चाे खबरसंग बताए ।
वडाध्यक्ष घिसिङसहित इन्द्रबहादुरको घरमा पुग्नुभएका साहले अधुरो अवस्थामा रहेको इन्द्रबहादुरको घरको बाँकी काम पूरा गर्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
केही वर्षअघि आगलागीमा परेर फुसको कच्ची घर जलेपछि इन्द्रबहादुरको परिवार नजिकै रहेको विद्यालयमा शरण लिएका बसेका थिए । पछि केही अभियन्ताहरुले उनकाे घर निर्माण गर्न सुरु गरेका थिए । सो घरमा छानो हाल्ने काम बाँकी बसेपछि समाजसेवी साह आफैले वडाध्यक्ष घिसिङको पहलमा कर्कट पाताको छानो लगाइदिएका हुन ।
समाजसेवी साहले शारीरिकरूपमा अशक्त घिसिङको घरमा झ्याल, ढोकालगायत अन्य बाँकी काम गर्ने बचन दिएर फर्किएका छन् । यसैबीच, इन्द्रबहादुरलाई राहत दिन भन्दै कोठीखोला जानेक्रममा हरिवन नगरपालिकाको वडा नं. १ र ८ को सीमाना बिलन्दी खोलामा बिग्रेको सडक सांसद साहले आज नै स्काभेटर लगेर तत्काल मर्मत गरिदिएका छन् ।
राहत लिएर गएको आफ्नै गाडी नै खोलाबाट उक्लन नसकेपछि साहले तत्कालै स्काभेटर लगी खोलाको उत्तरतर्फ ग्राबेल हालेर बाटो सम्माउने काम गरेका हुन्।