सर्लाही,साउन -१२, नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् कांग्रेसका प्रभावसाली नेता बिमलेन्द्र निधिले प्रतिनिधि सभा संसदबाट बहुमतले पास भएको नागरिकता विधेयकलाई साम्प्रदायिक रुप दिएर राजनीतिक नगर्न आग्रह गरेका छन् ।
उनलेे केही दलले जहिले पनि नागरिकताको कुरा आयो कि राष्ट्रियताको कुरा उठाएर साम्प्रदायिक रुप दिने गरेको भन्दै आक्राेश पाेखे ।
उनलेे भने ,” म साफ भन्न चाहन्छु ,कसैको चित्त दुखोसकी नदुखोस । अहिले जुन सरकारले नागरिकता विधेयक प्रस्तुत गरेको छ, त्यो पारित हुनुपर्छ “। जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले वर्षौदेखि नागरिकता पाइराखेको छैन् । त्यो पाउनु पर्छ ।
यसको बिरोध गर्नु साम्प्रदायिक मानसिकता मात्र हाे। श्रद्धाञ्जली सभामा सहभागिक हुनु अघि नेपाल प्रेस युनियन सर्लाही शाखाले हरिवनमा आयोजना गरेको पत्रकार सम्मलेनमा नेता निधिले नागरिकता विधेयक बहुमतले दुबै सदनबाट पास गर्नु पर्ने बताए ।
नेता निधि काँग्रेस नेता धिरेन्द्र श्रेष्ठको श्रद्धाञ्जली सभामा सहभागि हुन बिहीवार सर्लाही आएका हुन् ।
प्रतिनिधि सभाले नागरिकता विधेयक बहुमतले पास गरेको छ । सम्भवतः राष्ट्रिय सभाले पनि बहुमतले पारित गर्ने नै छ । बुधवार मात्रै गृहमन्त्री बालकृष्ण खाँणसंग यस विषयमा कुरा भएको छ । उहाँले पूरानो विधेयक फिर्ता लिएर नयाँ विधेयक प्रस्तुत गर्नु भएको छ । जुन स्वागत योग्छ । राम्रो छ । उहाँलाई मैले धन्यवाद समेत दिए,´निधिले भने, ।
वैवाहिक अंगकृतको सवालमा संविधानमा पहिलेदेखि जे व्यवस्था छ, त्यही अनुसार हुनुपर्छ । त्यो संशोधन गर्नु जरुरी पनि छैन् । त्यसमा कुनै म्याद वा सर्त पनि राख्नु हुदैंन् । कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारीको पालादेखिको संविधानदेखि लिएर आज सम्मको संविधानमा जे व्यवस्था छ, त्यही अनुसार वैवाहिक अंगकृत नागरिकताको कुरालाई यथावत राख्नु पर्छ,´उनलेे भने ।
एक हातमा सिन्दुर र एक हातमा नागरिकता दिनु भनेको मुर्खता हो । अपरिपक्वता हो । अज्ञनता र साम्प्रदायिकता हो । यस विषयमा पनि बहस गर्न आफू तयार समेत रहेको निधिले बताएका छन् ।
फरक प्रसंगमा निधिले अगामी मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने बताएका छन् । चुनावमा अहिलेको गठबन्ध कायम नै रहने उनले बताए । बरु थप एक दुई वटा दल सहभागी हुन सक्छ,”उनलेे भने । सबैसंग बहस चलिरहेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा सबै दलसंग निरन्तर सम्वाद रहेको निधिले बताएका छन् । निधिले स्थानिय तहको चुनावमा जसरी काँग्रेसले बहुमत ल्याएको छ, त्यसरी नै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा बहुमत ल्याउने दाबी गरे ।