सुमन घिमिरे (अग्रिम )….✍️
त्यो साँझ,
परिवर्तनको घोषित दस्ताबेजका पर्चाहरू फ्याँक्दै
एकमुठी बारुदका छर्राहरू
मेरो छातीमा फ्याँकेर गयौ।
झ्याउँकिरीहरू
कराइरहेका थिए/ चराहरू बास बस्न खोज्दै थिए/साइँली बज्यै सन्ध्या गर्दै थिइन्/पधेँर्नीहरू पानी भर्दै थिए/ हो त्यही वेला,
मेरो छातीमा बारुदका छर्राहरू बर्सिएको ।
तिमीले देखाएको परिवर्तनको झन्डामा
एउटा कामुक स्त्री नग्नता प्रदर्शन गर्दै,
र/ तिमीलाई आह्वान गर्छे –
“तिमी परिवर्तन साट्न सक्छौ – मसित”
र/ तिमी स्खलित हुन्छौ –
विचारबाट/सिद्धान्तबाट ।
तिमी !
साँच्चै, परिवर्तनकारी हौ,
म परिवर्तन नभएको भुइँमान्छे हुँ,
हो, म तिमीले जलाएर नजलेको विचार हुँ,
हो, म तिमीले पड्काउँदा नपड्केको बारुद हुँ,
हो, म तिमीले ढाल्न नसकेको जीवित सालिक हुँ,
हो, म पनि आगोको भ्रुण हुँ,
आगोका भ्रुणहरू कसैका पेवा हुँदैनन्
जल्न तयार होऊ –
म यो माटोको आगो हुँ ।
हो, त्यही परिवर्तन नभएको अवशेष हुँ – म ।
म,
तिम्रो बारुदको छर्रा खाएको
देशको अनागरिक हुँ।
– तिम्रै भाषामा ‘जडसूत्रवादी’ हुँ।
कि जलाऊ मलाई,
कि जल्न तयार होऊ,
आऊ –
सङ्घर्षको अन्तिम
मैदानमा ।
२०७९/०३/२७
