सर्लाही ,असार १०,जिल्लाको लालबन्दी नगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, विकास र प्रवर्धनलाई आ.व.०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा समेटेको छ ।

लालबन्दी नगर वाङ्‌मय परिषद्को ऐन, २०७७ अनुसार गठित लालबन्दी नगर वाङ्‌मय परिषद्‌मार्फत उक्त कार्य अगाडि बढाउने गरी नीति बनाइएको लालबन्दी नगरपालिका स्रोतले जनाएको छ । स्थानीयस्तरमा बोलिने भाषाको संरक्षणका अतिरिक्त साहित्यको विकास र प्रवर्धन गर्न कानुन नै तर्जुमा गरेर अगुवा बनेको मधेस प्रदेशका स्थानीय सरकारहरूमा लालबन्दी नगरपालिका, सर्लाही प्रथम नगरपालिका हो । सर्लाहीका अन्य पालिकाहरूको ध्यान यसतर्फ नपुग्नु भनेको अत्यन्त दु:खद् कुरा रहेको भाषा तथा साहित्य संरक्षण अभियानका एकजना अगुवा सुमन घिमिरे (अग्रिम ) बताउँछन् ।
लालबन्दी नगरपालिकाले नीतिगत रूपमै भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, विकास र प्रवर्धनमा उच्च महत्त्व दिँदा आफूहरू अत्यन्त उत्साहित भएको लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्ष तथा ग‍ोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी बताउँछन् ।
निवर्तमान नगर प्रमुख मानबहादुर खड्काको सक्रियतामा स्थापित लालबन्दी नगर वाङ्‌मय परिषद्ले नगरमा मात्र होइन समग्र राष्ट्रमा नै सम्बन्धित क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको यससँग सम्बन्धित जानकारहरू बताउँछन् ।
नेपालको संविधान, २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिधिमा रहेर लालबन्दी नगर वाङ्‌मय परिषद् ऐन, २०७७ तर्जुमा गरी लालबन्दी नगर वाङ्‌मय परिषद् गठन भएको हो । लालबन्दी नगरपालिकाका प्रमुख र उप-प्रमुख उक्त परिषद्को क्रमश: प्रमुख संरक्षक रहने व्यवस्था परिषद्को उक्त स्थानीय ऐनले गरेको छ ।