लालबन्दी, असार -१०, जिल्लाको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि जिल्लामै सबैभन्दा बढी सवा १ अर्बको बजेट प्रस्तुत गरेको छ ।


शुक्रवार सुरु भएको आठौं नगरसभामा लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीले आगामी  आर्थिक वर्षका लागि एक अर्ब २५ करोड पाँच लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन ।
बजेट मार्फ नगरप्रमुख अधिकारीले कृषि क्याम्पस,१५ शैयाकाे अस्पताल, हरित चक्रपथ र लालबन्दीबाट वीपी मार्ग जाेड्ने सडक पूर्वाधार बिकाशमा जाेड दिएका छन् ।
शुक्रवार(आज) भएको आठौं नगरसभामा नगरप्रमुख अधिकारीले कृषि प्रविधि र प्राविधिक उत्पादन गर्न उष्ण प्रदेशीय बागवानी केन्द्र र तेलबाली अनुसन्धान केन्द्रसँग समन्वय गरी कृषि क्याम्पसको स्थापना र पूर्वाधार विकास गरी सम्वन्धित विश्वविद्यालयबाट सम्वन्धन लिने व्यवस्था मिलाइने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
उनले आफ्नो नीति तथा कार्यक्रममा नगरपालिकाको आर्थिक समुन्नतिकाे लागि  मुख्य व्यापारिक नाका विस्तार गर्न बी.पी. राजमार्गसम्म पहुँच सुनिश्चित गर्ने उल्लेख गर्दै, लालबन्दी–मरिण सडक निर्माण कार्यलाई द्रुत गतिमा  अगाडि बढाउने योजना अघि सारेका छन् ।
नीति तथा कार्यक्रममा मेयर अधिकारीले ,नगरपालिकाभित्र लामो समयदेखि ऐलानी पर्ति जग्गामा बसोवास गरिरहेका घरपरिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने, मनमोहन मेमोरियल सामुदायिक अस्पतालको भवन निर्माण कार्य सुरु गर्ने, रानिगञ्जमा नगरस्तरीय १५ शैय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने उल्लेख गरेका छन् ।
नगरपालिका क्षेत्रका अधिकतम् बस्तीहरुलाई जोडने हरित चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बमोजिमको कार्य शुभारम्भ गर्ने,लालबन्दी नगरपालिकाका बर्थिङ सेन्टरमा प्रसुति हुने महिलालाई पाँच हजारका दरले सुत्केरी खर्च उपलब्ध गराउने, प्राथमिक स्वास्थ्य केन्द्रमा एम.डी. डाक्टरको सेवा सूचारु गरिने   र पोष्टमार्टमको समस्यालाई निराकरण गर्न लालबन्दीको प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने व्यवस्था मिलाइने, नीति तथा कार्यक्रममा उल्लेख छ ।

आठौं नगरसभाका सहभागी जनप्रतिनिधि तथा स्थानीय । तस्बिर : कृष्ण थपलिया ।


नगरसभामा प्रस्तुत गरिएको सवा १ अर्ब बजेटमध्ये स–शर्ततर्फ ७३ करोड २२ लाख रुपैयाँ र निःशर्ततर्फ ५१ करोड ८३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
उपमेयर कल्पना पाख्रिनले स्वागत मन्तव्य तथा प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सेनाले सञ्चालन गरेकाे नगरसभाको उद्घाटन समारोहमा बोल्दै, विभिन्न पार्टीका प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्व मेयर लगायतले नीति तथा कार्यक्रमको सफलताको शुभकामाना व्यक्त गरेका थिए ।
कार्यक्रममा नीति तथा कार्यक्रममा आफ्नो   धारणा राख्दै पूर्व नगर प्रमुख  मान बहादुर खड्काले नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको बताए ।
नेपाली काँग्रेसका प्रदेश(ख) का सभापति सिताराम दाहालले नगरको विकासमा अल्पमत, बहुमत भनेर भन्दापनि नगरको हित कसरी हुन्छ भनेर सबै लाग्नु पर्ने र बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
त्यसैगरी नेकपा एमालेका नगर अध्यक्ष विक्रम भण्डारीले समग्रमा नीति तथा कार्यक्रम राम्रै भएपनि कार्यान्वयनमा भने आशंका व्यक्त गर्नुभयो ।
त्यस्तै नेकपा एकीकृत साजवादीका लालबन्दी नगर अध्यक्ष जगन्नाथ काफ्ले (राजन) नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राम्रो भएको भएपनि कार्यान्वयनको पक्षका आधारमा विरोध या समर्थन गर्ने बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्रका नगरअध्यक्ष लेखराम जर्गामगरले नगरपालिकाको नीति तथा कार्यक्रम सान्दर्भिक रहेको भन्दै कार्यान्वयनमा सबैले सघाउनु पर्ने बताए ।
त्यसै उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, बजार, सडक, सरसफाई लगायत समग्र विषयलाई नीति तथा कार्यक्रममा समेटेकोले स्वागतयोग्य रहेको बताए  ।लाेसपाका सुनील कुमार साहले नगरको सवै खालको सकारात्मक काममा आफ्नो साथ र सहयोग रहने बताए ।