सर्लाही,असार -७, जिल्लाको कविलासी नगरपालिका वडा नं. ८ मा सोमवार राति घाँटी रेटेर एक युवकको हत्या भएको छ ।
नगरकाे वडा नं.–८ अगर्वाका २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको धारिलो हत्यारकाे प्रयोग गरि हत्या भएको सर्लाही प्रहरीले जनाएको छ।
अगर्वा चोकभन्दा २ सय मिटर पश्चिममा रहेको बाँसघारी नजिक रगतले लतपतिएको अवस्थामा शव देखेपछि मंगलवार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ठाकुरको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकका बुवा र भाइ मिलेर अगर्वा चोकमा फर्निचर पसल सञ्चालन गर्दै आएका थिए । मृतक ठाकुर सोमबार राति खाना खान घर नपुगेपछि परिवारले रातिबाटै खोजबिन गरे भएपनि फेला पर्न सकेका थिएनन् ।
हत्याका सम्बन्धमा छानबिन गर्न सर्लाही प्रहरीले प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर झिकाइएको छ ।
ठाकुरको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको र घट्नाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।