प्रतिकात्मक तस्विर :अनुसन्धानमा कुकुरकाे प्रयाेग गर्दै प्रहरी।

सर्लाही,बैशाख—१९,सर्लाहीको हरिपुर नगरपालिका–१, मूर्तिया जंगलमा शनिबार अपरान्ह साँढे ४ बजे घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धानलाई तिब्रता दिएको छ ।


रौतहट जिल्लाको गुजरा नगरपालिका–२ का ३१ वर्षीय विष्णु घिसिङको शव मूर्तिया जंगलमा शनिवार फेला परेको थियो । बागमती सिचाईं आयोजनाको गढैया शाखा नहरभन्दा केही पश्चिम मुक्तेश्वर सामुदायिक वन क्षेत्रमा माथिल्लो भागमा भित्री गञ्जी मात्रै लगाएको र शरिरका अन्य भाग पूरै नांगो अवस्थामा घिसिङको शव फेला परेको हो ।
वन क्षेत्रमा दाउरा काट्न जानेले घाँटी रेटिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घिसिङ रौतहटबाट बरहथवा नगरपालिका–९, मूर्तिया निवासी दिदी–भिनाजु पर्ने आफन्तकोमा आएका थिए । शनिबार दिउँसो जंगलमा दिदीसँगै दाउरा काट्न गएका घिसिङको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो ।

घटनाबारे सुक्ष्म तरिकाले अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिए । सर्लाही प्रहरीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर समेत झिकाएर अनुसन्धान गरिरहेको जनाएको छ । शनिबार राती ७ बजेदेखि झण्डै दुईघण्टा कुकुरलाई जंगल क्षेत्रमा छाडिएको थियो । राती जंगलमा कुकुर दौंडिदा प्रहरीहरु पनि पछिपछि दौडिनु पर्दा सुरक्षाकर्मीहरुले निकै हैरानी ब्यहोर्नु परेको थियो ।
कुकुरले गरेको शंका तथा प्रहरी अधिकारीहरुको समेत शंकाका आधारमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार प्रहरीले मृतकका भिनाजु नाता पर्ने सहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । नांगो अवस्थामा शव फेला पर्नुले घटनालाई अन्य विविध पक्षबाट समेत अनुसन्धान अगाडी बढाईएको प्रहरी स्रोतले जनाएको छ ।
शवको प्रकृति हेर्दा ती युवकको शनिबार दिउँसो नै दाउरा काट्ने दवियाले घाँटी रेटेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई पोष्टमार्टमका लागि सदुरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल मलंगवा राखिएको प्रहरीले जनाएको छ ।