कविता : राता मान्छेहरू!
कवि-सुमन घिमिरे अग्रिम--✍️
समय बदलियो कि राता मान्छेहरू
मेरो मस्तिष्कले अझै ठम्याउन सकेन
भन
ए राता मान्छेहरू!
एक समय थियो –
मेरो कलिलो
मानसपटलमा लाग्थ्यो राता मान्छेले मात्र
राता फेटा र झन्डासँगै
प्रभातकालीन
राता र कलिला घामहरू
बस्ती बस्तीमा विछ्याउँछन् ।
लाग्थ्यो उनीहरू राजा बस्ने आसनमा पुगे भने त
मातृभूमिले सुनको अन्डा कोरल्ने छ
चुलिएका असमानताका खाडलहरू
पुरिएर,
भत्किएका मनका पुल पुलेसाहरू
जोडिएर,
बञ्जर भूमीहरू
कोरिएर,
अविश्वासका पर्खालहरू
तोडिएर,
विदेशिने पाइलाहरू
मोडिएर
बस्तीहरू जुर्मुराउनेछन् – नयाँ दिशा पहिल्याउन।
तर…
अहिले
सबै सबै मिथ्या रहेछन् जस्तै लाग्छ।
समय आफ्नै गतिमा छ
तर लाग्दैछ
मिथ्या नै हुन् त – राता मान्छेहरू!
भन ए राता मान्छेहरू !