जनकपुरधाम,बैशाख -७, जनकपुरधामको विद्यापति चोकमा बुधवार साँझ नेपाली कांग्रेसका कार्यकर्ताहरुले गठबन्धनको विरोधमा प्रदर्शन गरेका छन् ।


सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई दिने भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले त्यसको विरोध गरेका हुन ।


उनिहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसंग गठबन्धन गर्न पाइदैन भन्दै चर्को नारावाजी समेत गरेका छन् ।


नेपाली कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै चुनावमा जित्न सक्ने स्थितिमा रहेको बेला मधेशको दलाल दललाई मधेस प्रदेशकाे राजधानी जनकपुरधाम उपमहानगरपालिका दिनु निन्दनीय रहेको बताए ।
उनले भने, ‘केन्द्रिय गठबन्धनले हाम्रो भावनासंग खेलवाड गरेको छ। तसर्थ हामी बिरोधमा उत्रिनुको विकल्प छैन । हामी यो ठगबन्धनलाई कुनै पनि हालतमा स्वीकार गर्दैनौं ।’