काठमाडौ, चैत -१८, प्रधानमन्त्री शेर बहादुर देउवाको ३ दिने आसन्न भारत भ्रमणमा छलफलका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राथमिकताका आधारमा एजेन्डा छनौट गरेको छ ।
मन्त्रालयका प्रेस संयोजक सत्य प्रकाश यादवका अनुसार, कृषि तथा पशुपन्छीतर्फ सात बुँदे एजेन्डा तय गरिएको छ । एजेन्डाहरुमा क्रमशः जिटुजि विधिबाट रासायनिक मलको पहिलो खेप आपूर्ति, रासायनिक मल कारखाना स्थापना, व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग, मुर्रा राँगा आयात, एकीकृत चेकपोस्ट स्थापना र खोरेत भ्याक्सिन उत्पादन रहेको छ ।
भारत सरकारको रसायन एवं उर्वरक मन्त्रालयसंग जिटुजि विधिबाट रासायनिक मलको पहिलो खेप आपूर्ति र रासायनिक मल कारखाना स्थापनाको सन्दर्भमा ग्याँसबाट संचालित मल कारखानाको हकमा ग्याँस पाइपलाईन विस्तार, कृषि तथा सहकारीता मन्त्रालयसंग व्यापार प्रवर्द्धन र प्राविधिक सहायता र मत्स्य पालन, पशुपालन तथा दुग्ध मन्त्रालयसंग उत्पादन र उत्पादकत्व वृद्धिका लागि नस्ल सुधार गर्न मुर्रा राँगाको आयात, एकीकृत चेकपोस्ट स्थापना र खोरेत भ्याक्सिन उत्पादनका लागि खोरेत भाइरसको सिड सहित पूर्वाधार निर्माणमा सहायताको लागि भारत सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
आसन्न भारत भ्रमणमा कृषि मन्त्रालयको तर्फबाट मन्त्री महेन्द्र राय यादव र कृषि तर्फका सचिव डा. गोविन्द प्रसाद शर्मा सहभागी भएको संयोजक यादवले बताएका छन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गरेका छन् । भने सोही एयरलाइन्सबाट यही चैत २० गते आइतबार साँझ ६ः१० बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।