सर्लाही,चैत -१६,सर्लाहीमा चैत २५ गते बाट  टाइफाईड विरुद्धको टिसिभी खोप दिईने भएको छ ।
दुई चरणमा गरेर जिल्लाका २०ओटै पालिकामा १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप दिइने   जिल्ला स्वास्थ्य कार्यालयले मलंगवाले जनाएको छ ।


पहिलो चरणमा चैत्र २५ गतेदेखि ३० गते सम्म सदरमुकाम मलंगवासहित ब्रह्मपुरी, हरिवन, हरिपूर्वा, ईश्वरपुर, चन्द्रनर, बागमती, पर्सा, लालबन्दी र बरहथवा गरी १० पालिका र दोश्रो चरणमा बलरा, रामनगर, बसवरिया, धनकौल, विष्णु, गोडैता, कौडेना, चक्रघट्टा, कविलासी र हरिपुर गरी १० पालिकामा खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झा ले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय मलंगवामा बुधवार दिउँसो पत्रकार अभिमुखिकरण  क्रममा स्वास्थ्य कार्यालय प्रमुख डा. झाले खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाभर ५९८ खोप केन्द्रहरु तोकिएको र ती केन्द्रहरुमा खटिजाने एक हजार ३५० स्वयमसेविका र विद्यालयका शिक्षिकाहरुले बालबालिकालाई खोप दिने बताए । विभिन्न सामुदायिक र संस्थागत  विद्यालय र विद्यालयहरुले तोकेका स्थानमा गएर १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाईफाईड विरुद्धको खोप दिने प्रमुख डा. झाले बताए ।
नेपालमा देशैभर एकै चरणमा चैत्र २५ गतेदेखि आगामी २०७९ वैशाख १८ गते सम्म टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन गर्ने राष्ट्रिय खोप समितिले गत फागुन ९ गते गरेको निर्णय गरेको छ । सर्लाहीमा भने चैत्र २५ गते देखि ३० सम्म र आगामी वैशाख ४ गते देखि ९ गतेसम्म गरी दुई चरणमा अभियान संञ्चालन गर्न लागिएको हो ।
अभियान अन्तर्गत सर्लाहीमा १५ महिना देखि १५ वर्ष मुनिका २ लाख ६३ हजार ६०० बालबालिकालाई खोप दिईदै छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार नेपालमा करीब ७५ लाख बालबालिका टाईफाईड रोगबाट संक्रमित छन् ।
खाेपले बालबालिकालाई टाईफाईडबाट  सुरक्षित राख्ने भएकाले उमेर पुगेका बालबालिकालाई अनिवार्य खाेप लगाउन जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले आग्रह गरेको छ । खाेपले बालबालिका मा कुनै पनि नकारात्मक प्रभाव नहुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. झा ले बताए ।