सर्लाही,चैत  –१२, सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान बस्तीमा शनिबार दिउँसो १बजे आगलागी हुँदा १३  घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।


स्थानीय प्रदीप पासवानको घरबाट अचानक सुरु भएको आगलागीबाट  बस्तीमा रहेको  १३ वटा घर जलेर खरानी भएकाे इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
आगलागीबाट प्रदीप पासवान, सितल पासवान, बिकाउ पासवान, जितन पासवान,रामवली पासवान, जवाहिर पासवान,  रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको फुसको छानो भएका घरहरु घर पूर्णरुपमा जलेर नष्ट भएकाे हाे ।
आगलागी स्थानीयवासी, सुरक्षाकर्मीसहित सदरमुकाम मलङ्गवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा नियन्त्रणमा आएको  प्रहरीले जनाएको छ ।
आगलागीका कारण  बिचल्ली भएका परिवारलाई  नेपाली कांग्रेस मधेस प्रदेशका सभापति एवम् प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह,उनका सहाेदर दाजु नेपाली कांग्रेस  सर्लाहीका  सभापति सुरेन्द्र प्रसाद सिंहले तत्काल राहत सामग्री वितरण गरेका छन् ।
कांग्रेस नेता द्वयले आगलागी पीडित परिवारलाई व्यक्तिगत रूपमा खाद्यान्न, त्रिपाल ,कम्बल लगायतका राहत सामग्री वितरण गरेका नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.४ का सभापति एवम् धनकाैल गाउँपालिका का अध्यक्ष रामआश्रय साहले जानकारी दिए ।
उनका अनुसार कांग्रेस नेता द्वयले पीडित परिवारलाई २५ थान कम्बल,२५ थान त्रिपाल चामल,दाल,चिउरा, खाने तेल,ग्यास र औषाेध उपचारको लागि  नगद ५ हजार सहयोग गरेका छन् ।
तुरुन्तै घटनास्थल पुगेका मन्त्री सिंहले पीडित परिवारकाे घर निर्माणमा आफुले पहल गर्ने बताएका छन् । उनलेे आगलागीमा परेका परिवारकाे उचित व्यवस्थापनमा आफ्नो सहयोग रहने बताए ।