सर्लाही,चैत -१२, सर्लाहीकाे ईश्वरपुर नगरपालिका स्थित वयलबास बजारमा शनिबार (आज)बिहान क्लब भवन बनाउने विषयमा झडप हुँदा गम्भीर घाइते भएका संघिय सांसद प्रमाेद साहलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डाै लगिएको छ ।
फूलजाेर-त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजाेड युवा क्लबकाे आधा भवन भत्किएकाे र बाँकी रहेकाे जग्गामा क्लबकै भवन बनाउने कि बनाउन नदिने भन्ने विषयमा स्थानीय बासिन्दाबीच विवाद थियाे । साेही विवाद बढ्दै जाँदा शनिवार बिहान दुईपक्ष बीच झडप भएकाे हाे । झडपमा परी संघीय सांसद् साह घाईते भएका हुन् ।
ढुंगाले लाग्दा सांसद् साहकाे टाउकाेमा गहिराे चाेट लागेकाे ईलाका प्रहरीले कार्यालय केशरजंगका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । टाउकोमा गहिरो चाेट लागेका सांसद साहाकाे वयलबास स्थित अमृत हेल्थकेयर अस्पतालमा २५ वटा टाका लगाएको छ ।
सांसद साहलाई थप उपचारको लागि मध्याह्न १२:१० मा हेलिकप्टर मार्फत काठमाण्डाै स्थित न्यूराे अस्पताल पठाएको प्रहरी निरीक्षक ढुंगानाले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
प्रहरीले भिडलाई तितरवितर पारेर पछि अहिले वयलबास बजारको स्थिति सामान्य भएको ईलाका प्रहरी कार्यालय केशरजंगले जनाएकाे छ ।