सर्लाही,चैत -१,नेपाल सरकारकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जस्तोसुकै दुरदराजका नागरिकले पनि बिजुलीको उज्यालोबाट बञ्चित हुनु नपर्ने बताएकी छिन् । आफूले गरिब घर परिवारलाई निःशुल्क विजुली दिने व्यवस्था मिलाएको भन्दै उनले त्यसबाट हाल देशभरका साढे २६ लाख परिवार लाभान्वित भएको बतनईन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा नवनिर्मित १३२/३३ केभी सवस्टेसनको मंगलवार उद्घाट गर्दै मन्त्री भुसालले अबको दुई वर्षभित्रमा देशमा बिजुली बत्ती नपुग्ने घर नहुने विस्वास व्यक्त गरिन ।
कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नवलपुर सवस्टेसनको निर्माणबाट सर्लाहीमा विजुलीको गुणस्तरमा उल्लेख्य सुधार भएको बताए । विद्युत् लाइन विस्तारमा राज्यले सबैभन्दा धेरै लगानी मधेस प्रदेशमा गरेको बताउदै घिसिङले अब विद्युत चुहावट नियन्त्रणमा अग्रसरता देखाउन यहाँका नागरिकलाई आग्रह गरे ।
कार्यक्रममा विद्युत् प्राधिकरण नवलपुर सवस्टेसनका प्रमुख निरन्जन साहले आयोजना निर्माण र त्यसको सञ्चालनमा भएको प्रगतिको विषयमा मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङलाई जानकारी गराएका थिए । त्यसक्रममा मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङले सवस्टेसनको स्थलगत निरीक्षणसमेत गरेका थिए ।

कार्यक्रममा संघीय सांसद प्रमोदकुमार साह र राधेश्याम पासवान, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।
नेपाल सरकार र प्राधिकरणको ५३ करोड लागतमा नवलपुरमा सवस्टेसन निर्माण भएको हो । नवलपुरमा सवस्टेसन निर्माण तत्कालीन उर्जा राज्यमन्त्री शम्भु लाल श्रेष्ठले पहल गरेका थिए । गत कात्तिकमा सवस्टेसनको निर्माण सम्पन्न भएको थियो ।