सर्लाही,फागुन -२६, राजर्षि जनक कप फुटबल प्रतियोगिताको छैठौ संस्करण चैत्र २ गतेबाट सुरु हुने भएको छ। 
अयाेजक बागमती युवा कल्वले बिहीवार (आज)सर्लाहीको बागमती नगरपालिकामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरेको हाे ।

प्रतियोगितामा मधेश प्रदेशकै सबैभन्दा धेरै धनराशी पुरुस्कारमा राखिएको छ ।प्रतियोगिताको विजेतालाई नगद रु १० लाखसहित राजर्षि जनक कप तथा उप विजेतालाई नगद ५ लाखसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद २५ हजार प्रदान गरिने क्लवका अध्यक्ष किस्मत राज मैनालीले बताए। प्रत्येक प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ। त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइक र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ। 
आन्तरिक पर्यटन तथा संस्कृति सम्बद्र्धनको लागि छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिता यस वर्ष चैत्र २ गतेबाट बागमती नगरपालिका वडा नं. १२ स्थित संन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा आयोजना गरिने क्लबले जनाएको छ। 
चैत्र १३ गते सम्म संचालन हुने प्रतियोगितामा ११ स्वदेशी र एक बिदेशी गरी १२ ओटा टिमको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष मैनालीले जानकारी दिएका छन्। प्रतियोगितामा मनाङ मस्र्याङदी क्लव काठमाण्डौ, नेपाल आइस हिमालयन शेर्पा क्लव काठमाण्डौ, पिप्ले युवा क्लव हेटौडा, आयोजक बागमती युवा क्लव सर्लाही, के.बि.ए. ग्लोबल बि.एफ.सी चितवन, न्यूरोड टिम (एन.आर.टी.) काठमाण्डौ, नव जागृती फुटबल क्लव सिमरा, नेपाल पुलिस क्लव काठमाण्डौ, सुदूरपश्चिम ११ धनगढी, मछिन्द्र फुटबल क्लव काठमाण्डौ, एभेनिर फुटबल क्लव क्यामरुन, सशस्त्र पुलिस क्लव (ए.पी.एफ) काठमाण्डौको सहभागिता रहने आयोजकले जनाएको छ।
क्लवका अध्यक्ष मैनालीका अनुसार प्रतियोगिता संचालनमा अनुमानित ८० लाख खर्च हुने छ ।