सर्लाही, फागुन -२४,नेपाली कांग्रेस संस्थापन पक्ष सर्लाहीले मंगलवार ( आज )प्रेस विज्ञप्ती जारी गर्दै, निर्वाचन प्रक्रिया पूरा गर्न निर्वाचन समितिसँग माग गरेको छ ।
संस्थापन पक्षका नेताहरु जिल्ला सभापति नागेन्द्र कुमार राय, पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, मधेस प्रदेश समितिका उपसभापति वीरेन्द्र प्रसाद सिंह, नेपाली काँग्रेस मधेस प्रदेश समितिका सचेतक उपेन्द्र कुशवाहा, ३ नम्वर क्षेत्रका क्षेत्रीय सभापति पुण्यप्रसाद घिमिरे, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय र प्रदेश समिति सदस्य कृष्णदेव यादवद्वारा संयुक्त हस्ताक्षरीत प्रेस विज्ञप्तीमा अबिलम्ब निर्वाचन प्रक्रिया पूरा गर्न माग गरिएको छ ।
इत्तर पक्षले हिजो ( साेमवार) सम्पन्न हुने गरि तयार गरिएको आचार संहितामा पुनः बखेडा झिकेर पार्टीको बिधान नियमावली र निर्देशिकामा व्यवस्था भएबमोजिम निर्वाचन सम्पन्न गराै भनी गरेको प्रयासमा मनगढन्ते अमर्यादित र गैर कानुनी शव्दकाे प्रयोग गरि द्वन्द्व निम्त्याई अधिवेशन राेकेकाे संस्थापन पक्षद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । संस्थापन पक्षले विज्ञप्तिमार्फ इतर पक्ष निर्वाचन प्रक्रियाबाट भागेको आराेप लगाएको छ ।
यता जिल्ला अधिवेशन गराउन आएका निर्वाचन अधिकृतले भने जिल्ला छाडेका छन् । हिजो अन्तिम समयमा आएर जिल्ला अधिवेशन अन्तर्गत मतदान स्थगित भएपछि निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंह र सहायक निर्वाचन अधिकृत धीरेन्द्र चौधरी लगायतले जिल्ला छाडेर घर फर्किनुभएको हो । निर्वाचन अधिकृत सिंहले आफू राती विराटनगर फर्किसकेको बताए । उनले अन्तिमसम्म प्रयास गर्दा पनि पार्टीका दुई समूहबीच विवाद मिल्न नसकेपछि निर्वाचन स्थगन गरेर फर्किएको बताए ।
सिंहले अब नेपाल बार एशोसिएसनको निर्वाचन सुरु भइसकेकाले तत्कालै सर्लाहीमा काँग्रेसको जिल्ला अधिवेशन हुने अवस्था नरहेको बताए ।
मतदानस्थल तय गर्ने, मतपत्र छाप्ने, सुरक्षा प्रवन्ध मिलाउनेजस्ता सम्पूर्ण तयारीको काम पूरा हुँदा समेत नेताहरु आपसमा विवाद गरेर मतदान नै स्थगित हुने वातावरण सिर्जना गराएको उनले बताए ।
हिजो जिल्लाभरका कार्यकर्ता आगामी जिल्ला नेतृत्वका लागि मत खसाल्न सदरमुकाम मलङ्गवा पुगिसकेको अवस्थामा इच्छ्याएको व्यक्तिले मत खसाल्ने, मतपत्रमा नाम राख्ने लगायतको विषयमा दुई पक्षबीच विवाद भएको थियो । जिल्ला अधिवेशन हुन नसकेपछि काँग्रेसको फागुन २९ र ३० गतेका लागि तय गरिएको पालिका अधिवेशन पनि अन्यौलमा परेको छ ।