बलरा,फागुन -१९,दुई पक्षबीचको विवादले यश अघि हुन नसकेको सर्लाही क्षेत्र नं. ४ बलराकाे वडा अधिवेशन बिहिवार ( आज) सम्पन्न भएको छ ।


लामाे विवादले क्षेत्र नं. ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं. ८ गडहीया र वडा नं. ९ अचलगढमा कांग्रेसको वडा अधिवेशन हुन सकेको थिएन् ।
गत मंसिर १२ र १३ गते वडा अधिवेशन गराउन खोज्दा साे स्थानमा गोलीसमेत चलेको थियो । झडपमा परी मतदान अधिकृत, सुरक्षाकर्मी र पार्टीका नेता कार्यकर्ता समेत घाईते भएका थिए ।
झडप पछि त्यहाँ वडा अधिवेशन रोकिएको थियो । विहिवार भने सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।वडा समिति र वडाबाट छानिएर आउने क्षेत्रीय प्रतिनिधिमा दुवै पक्षले भागबण्डा मिलाएर वडा अधिवेशनको विवाद टुंग्याएका हुन् । वडा नं. ८ गहडीयामा संस्थापन इतर पक्षका छितनु साह वडा सभापति बनेका छन् । सो वडामा संस्थापन पक्षले ९ जना क्षेत्रीय प्रतिनिधि पाएको छ । संस्थापन इतर पक्षले भने वडा सभापतिसहित ७ जना क्षेत्रीय प्रतिनिधि लिएको छन्।
अर्को विवादमा रहेको वडा नं. ९ अचलगढमा पनि संस्थापन इतर पक्षले नै सभापति लिएको छ । त्यहाँ वडा सभापतिमा प्रमोद चौधरी चुनिएका छन् । संस्थापन इतरले सभापतिसहित ४ जना क्षेत्रीय प्रतिनिधि लिएर १२ जना क्षेत्रीय प्रतिनिधि संस्थापन पक्षलाई दिएको छ ।
संस्थापन पक्षबाट प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका नेता वीरेन्द्र प्रसाद सिंह र संस्थापन इतर पक्षका सभापतिका उमेदवारका भाइ समेत रहेका कौशलकिशोर राय बसेर दुवै वडाको विवाद समाधान गरी भागबण्डा मिलाउँदै वडा अधिवेशन गराएका हुन् ।
ती दुवै वडामा सहमती हुन नसके आज उम्मेदवारहरुको मनोनयन दर्ता गराएर भोली शुक्रबार मतदान गराउने तयारी थियो । बुधबार साँझ लालबन्दीमा सहायक निर्वाचन अधिकृत धीरेन्द्र चौधरीको रोहबरमा संस्थापन र संस्थापन ईतर पक्षबीच भएको छलफलमा २० गते बलराको दुई वटा वडाको मतदान गराउने, २३ गते जिल्ला अधिवेशन गराउने र ३० गते पालिकाहरुको अधिवेशन गराउने सहमती भएकाे थियो ।
विवादित वडामा अधिवेशन सम्पन्न भएसंगै २३ गतेका लागि निर्धारित जिल्ला अधिवेशन प्रायः निश्चित भएको छ ।
सहमती अनुसार २३ गते लालबन्दी वा मलंगवामा जिल्ला अधिवेशन हुने भएको छ । लालबन्दीमा गराउँदा जनज्योति मावि र मलंगवामा गराउँदा पब्लिक माविलाई मतदान स्थल बनाउने तयारी भइरहेको सहायक मतदान अधिकृत चौधरीले जानकारी दिए ।
नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिकाे लागि संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण राय सभापतिको लागि भिड्दैछन् ।