भ्याई नभ्याई छ यहाँ जीवन
मृत्युशैय्याका लागि बाँसका कप्टेरा
बाँसकै चोया बुनिदैछ क्रमशः
कहिले क्षणिक खुसिमा उम्लँदै
कहिले थोरै कष्टमा छट्पटीँदै
जीवनका आरोह अवरोह
समालि नसक्नु छ ।
कहिले पेटका कथाले पिरोल्छ
कहिले भेटका कहानीले विथोल्छ
जीवन सँग कहिले सँस्कारको द्वन्द्व हुन्छ
कहिले समाजका परिवर्तनले चिन्ता थप्छ
एक्लो जीवन नै किनारा लाग्न पाएकै हुन्न
एक पछि अर्को जीवन गाँसिदै जान्छ
भन्न सजिलो छ
“आफ्नो भाग खाने ” भनेर
सुन्न सजिलो छ
“जाबो दुई दिनको चोला ” भनेर
चोला त जम्मा दुई दिनकै हो
एक दिन जन्म्यो अर्को दिन मर्यो ।
प्रत्येक जीवन भोग्नेहरु
तनाव युक्त छन्
जोगी बन्नेलाई पनि पीडा उतिकै छ
विलासीलाई पनि सहजता छैन
धन हुनेलाई बाँड फाँडको पीडा छ
धन कम हुनेलाई धेरै बनाउने पीडा छ
हुँदै नहुनेलाई भए हुन्थ्यो भन्ने पीडा छ
छ र पो ! जीवन फुर्सदमा यापन हुदैन ।
निश्चिन्त र निर्वाध जीवन जीउने थोरै छन्
भए पनि केही न केही
उतार चढाव पक्कै छ
वेहोश मैँ मृत्यु स्विकार्नु पर्छ एक दिन
जन्म पनि त वेहोश मैँ भएको हो ।
जस्तै उपलब्धि हाँसिल गरेपनि
शिखर पुरुष बने पनि
मृत्युशैय्या कै बुनाई त हो
ती उपलब्धिहरु ।
अरुले दिएका समवेदना ,
र फूलका गुच्छा आखिर
जीवनको दागबत्ती बराबर न हो
उसका लागि ।
धन्यवाद !
२०७८/११/१७ गते महाशिवरात्री
मकवानपुर हेटौंडा ।