बागमती ,फागुन–६,प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेसका नेता खड्ग बहादुर कार्कीको ७१ वर्षको उमेरमा निधन भएको छ ।
उच्च रक्तचाप, मधुमेह लगायत रोगबाट पीडित कार्कीको विहिबार राती साँढे ८ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कार्कीको निधनमा प्रति पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शाेक विज्ञप्ति जारी गर्दै,संगठन निर्माण र लाेकतान्त्रिक आन्दोलनमा कार्कीकाे सक्रिय सहभागीता रहेको उल्लेख गरेका छन् । सभापति देउवाले कार्कीकाे निधन प्रति दुःख व्यक्त गर्दै,श्रद्धाञ्जली प्रकट गरेका छन् ।

कार्कीको निधनले पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको मुख्य सचिव कृष्णप्रसाद पाैडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

हरिवन नगरपालिका–११ निवासी कार्कीको शुक्रबार बिहान बागमती नदि किनारमा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कार अघि स्व. कार्कीको पार्थिव शरिरमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव, सर्लाही जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, नेकपा एमालेका नेता रेवती पन्त लगाएतले कांग्रेसको चारतारे झण्डा ओढाएका थिए ।
दाहसंस्कार स्थलमा कांग्रेस हरिवन सभापति रामशरण उप्रेतीको अध्यक्षतामा आयोजित संक्षिप्त श्रद्धाञ्जली सभामा कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादव, नेकपा एमाले प्रदेश उपाध्यक्ष रेवती पन्त, कांग्रेस सर्लाही उपसभापती सुरेन्द्र प्रसाद सिंह, कांग्रेस पूर्व जिल्ला सभापति लक्ष्मण राय, कांग्रेस पूर्व जिल्ला उपसभापती एवं महाधिवेशन प्रतिनिधि विनोद खनाल, हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं, एमाले नेता राजकुमार उप्रेती, नेकपा माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्त, नेकपा एकीकृत समाजवादी हरिवन अध्यक्ष चूडामणि वाग्ले,लगाएका वक्ताहरूले कार्कीले प्रजातान्त्रिक आन्दोलन एवम् सामाजिक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गर्दै कार्कीको निधनले समाजलाई अपुरणीय क्षति पुगेको बताएकाथिए ।
दाहसंस्कारमा नेकपा माओवादी केन्द्रका सर्लाही संयोजक कमल बुढाथोकी, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, उद्योगी व्यापारी, विभिन्न राजनैतिक दलका नेताहरु उनका आफन्त लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।स्व. कार्की २०३६ सालको आन्दोलन तथा २०४२ सालको सत्याग्रहमा सहभागी हुँदा जेल समेत परेका बताइन्छ । २०३६ सालको आन्दोलनमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चापिनी पुल जलाउने क्रममा स्व. कार्की लगाएका अन्य नेताहरू पक्राउ परेका कांग्रेस कार्यकर्ताहरू बताउँछन् । मुलुकमा परिवर्तन का लागि संघर्ष गरेका स्वर्गीय कार्की एक कार्यकाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएका थिए ।लामाे समय कांग्रेसमा क्रियाशिल भएपनि पदका लागि कहिल्यै वास्ता नगर्ने नेताको रूपमा आफुहरूले पाएकाे नेपाली कांग्रेस हरिवनका सचिव निरज कार्की बताए ।