बरहथवा,माघ– १, सर्लाहीको बरहथवामा उखु बारिमा मृत अवस्थामा फेला परेकी महिलाको हत्या भएको खुलेको छ । संलग्न रहेको आरोपमा पक्राउपरेका तीन जनालाई शनिवार
(आज) प्रहरीले सार्वजनिक गरेको छ ।


बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको गत पुस २३ गते घरबाट केही पर उखु बारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा शव फेला परेको थियो । मृतक महिला गत पुस १७ गतेबाट वेपत्ता भएकी थिईन ।


अनुसन्धानबाट मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता प्रेमसम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धकै कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई भगाउन बारम्बार दबाब दिँदै आएकी र सन्तोष विवाहित भएकाकारण भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीहरुलाई पैसा दिने लोभ देखाई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनामा हरिवन नगरपालिका–१०, ताइवानका २७ वर्षका सन्तोष साह, सोही ठाउँका २७ वर्षकै मुकेश ब्लोन र २२ वर्षका रोहित हजरा संलग्न रहेको खुलेको छ ।
अनुसन्धानका क्रममा घटनामा उनीहरुको संलग्नता पाइएको ईलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख डिएसपी उमा शंकर यादवले शनिवार (आज) घटनामा संलग्नहरूलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन ।
प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाईकल तथा घटनास्थलबाट बरामद भएको सामाग्री समेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको थियो ।
मृतक महिलाका श्रीमान् विगत १० बर्षदेखि रोजगारीको शिलशिलामा कतारमा रहेका थिए । उनी गत २ बर्ष पहिला मात्र नेपाल आएर गएका थिए ।