ईश्वरपुर,पुस-१६, भ्यानकाे ठक्करकाे काणकरमा मृत्यु भएका रामकुमार महतोको शव शुक्रबार साँझ अन्त्यष्टी गरिएसंगै जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत मंगलवार देखि जारी गरेको निषेधाज्ञा हटाईएकाे छ ।
मृतक महतोको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरि शुक्रबार दिउँसो परिवारले बुझेका थिए । परिवारले मृतक मृतक महताेको शव बुझेर शुक्रबार साँझ नै सदरमुकाम मलंगवास्थित झिम नदीमा परम्परा अनुसार अन्त्येष्टि समेत गरेका छन् ।

परिवारले मृतकको शव बुझेसँगै गएको सोमबारदेखि तनावग्रस्त बनेको बयलबास बजार क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ ।प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले बयलवासकाे अवस्था सामान्य बनेसँगै शुक्रबार साँझबाट निषेधाज्ञा आदेश हटाईएकाे जानकारी दिए ।

बयलवास घटनाबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति समेत गठन गरेकाे छ । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरले २ नं. प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र प्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
गत आइतवार राती ९ बजेतिर ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा ना. ४३ प ५०१८ नं. मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।
बुधबार लालबन्दीमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट घटनाको सम्वन्धमा अनुसन्धान गर्न समिति गठन गर्ने, मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत छ बुँदे सहमती भएपछि आन्दोलन भने रोकिएको थियाे ।

बुधबारको सहमती अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार पीडित परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।