लालबन्दी,पुस-१४, सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतो मृत्यु प्रकरणका विषयमा भएको छलफल निष्कर्षमा टुंगिएको छ ।
छलफलबाट पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने लगायत ६ बुँदे सहमती भएको छ ।


बुधबार (आज) लालबन्दीस्थित इलाका प्रहरी कार्यालयमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीहरुबीच ६ घण्टा बढी समय छलफल भएको थियोे ।
छलफलपछि पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत ६ बुँदे सहमती भएको छ ।
छलफलमा घटनाको सम्वन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतक रामकुमारमा आश्रित परिवारका सदस्यलाई रोजगार र शिक्षादिक्षाका लागि स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स लगायतका सङ्घ संस्थासँग समन्वय तथा अनुरोध गर्ने, प्रहरी र प्रशर्दनकारीबीच भएको झडपका आम नागरिक तथा व्यक्तिहरुको सम्पतिमा पुग्न गएको क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति तथा झडपमा घाईते भएकाको उपचारका लागि प्रचलित कानून बमोजिम केन्द्रमा सिफारिस गर्ने सहमती भएको छ ।

त्यसैगरी, घटनाको विषयलाई लिएर भएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइ राजनैतिक दल, सङ्घ संस्था, उद्योग व्यवसायी, नागरिक समाजले शान्ति सुरक्षा कायम राख्न पहल गर्ने र मृतकको शव बुझेर परम्परा अनुसार दाहसंस्कार गर्ने सहमती भएको छ । मृतक रामकुमारको शव गएको आइतवार राती देखिनै जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

बुधबारको छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झा, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार सहमती जुटेपनि बयलवास बजार क्षेत्रमा मङ्गलबार दिउँसो ३ बजेदेखि लगाइएको निषेधाज्ञा भने जारी नै राखिएको छ । निषेधाज्ञा भने बुधबार साँझ ७ बजे सकिँदै छ ।

बुधबार दिनभर पानी परेको र लालबन्दीमा वार्ता समेत राखिएकाले बयलवास बजार क्षेत्रमा बुधबार कुनै पनि किसिमको प्रदर्शन भएन् । प्रदर्शन हुनसक्ने भन्दै स्थानीय प्रशासनले भने बयलवास बजार क्षेत्रको चौक–चौकमै बाक्लो मात्रामा प्रहरी परिचालन गरेको थियो ।
गएको आइतवार राती इश्वरपुर नगरपालिका–७ स्थित इश्वरपुर नगरपालिकाको कार्यालय नजिकै प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुवनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । सो घटनालाई आक्रोशीत स्थानीयवासीले सोमबार र मङ्गलबार दुई दिन बयलवास बजारमा प्रदर्शन गरेका थिए ।

त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गामुढा हुनुका साथै प्रहरीको एउटा भ्यानमा आगजनी नै भएको थियो ।
झडपमा ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका १८ वर्षीय सञ्जय कुमार महतोसहित केही प्रहरी घाइते भएका थिए । प्रहरीले चलाएको गोली लागेर घाइते सञ्जयको ट्रमा सेन्टर काठमाण्डौंमा उपचार चलिरहेको छ ।