मलंगवा,पुस -१३,ईश्वरपुर घटनाकाे विषयमा छलफल गर्न सर्लाहीका प्रमुख जिल्ला अधिकारीले सर्वपक्षिय बैठक बाेलाईए छन् ।
साेमबार राती सर्लाही आईपुगेका नयाँ प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गाैतमले सर्वपक्षिय बैठक बाेलाएका हुन ।
बैठक मंगलबार बिहान साँढे ९ बजे मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा हुनेछ ।


आइतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना प्रहरीले लुकाउन खाेजेकाे र शंकाष्पद देखिएकाे भन्दै ईश्वरपुरका व्यापारीले साेमबार दिनभर बयलबास बजारमा टायर बालेर विराेध प्रदर्शन गरेका थिए । आक्राेशित समूहले ईलाका प्रहरी कार्यालय केशरगंजमा ढुंगामुढा गर्नुका साथै ईलाका प्रहरी कार्यालय हरिपुरकाे जीपमा आगजनीसमेत गरेका छन्  । प्रहरीले भिड नियन्त्रण गर्न  साेमबार साँझ अश्रुग्याँस प्रहार गरेकाे थियाे ।
मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरु सोमबार वार्ता स्थल छाडेर हिँडेकाले मंगलबार पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले मृतकका परिवारलाई २० लाख रूपैंया दिनुपर्ने तथा सत्यतथ्य छानविन गरि दाेषिमाथि कार्बाही गर्नुपर्ने माग राखेका छन् ।
साेमबार प्रमुख जिल्ला अधिकारी नभएकाले प्रहरीले मागका सम्बन्धमा आफुहरुले सिधै सम्बाेधन गर्न नसक्ने बताएपछि प्रदर्शनकारी प्रतिनिधि वार्ता छाडेर हिँडेका थिए ।

यता प्रहरी भ्यानले ठक्कर दिएर व्यापारीको मृत्यु भएको विरोधमा आन्दोलनरत ईश्वरपुर बयलवासका व्यापारीहरुले आज(मंगलबार) पनि बजार तथा पसलहरु बन्द गरेका छन् ।उनिहरूले घटनाको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कानूनी कार्बाही एवं राज्यद्वारा दिईने क्षतिपूर्ति बाहेक मृतकका सन्तानलाई लालनपालन एवं पठनपाठनका लागि थप १५ लाख रुपैंया राहत उपलब्ध गराउनु पर्ने भन्दै हिजो(सोमबार) दिनभर व्यापारीहरुले बयलवास बजारमा प्रदर्शन गरेका थिए ।