ईश्वरपुर,पुस–११, सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ९ खोरिया टोलमा आज एक  मोटरसाइकल चालकको मृत्यु भएको छ।


चालककाे आइतवार (आज ) पैदलयात्रीलाई ठक्कर दिएर भाग्नेक्रममा बिजुलीको पोलमा ठोक्किएर मृत्यु भएको हाे ।
आइतबार दिउँसो   ४ बजेतिर बयलवास बजारबाट मोहनपुरतर्फ जाँदै गरेको प्रदेश २ ०२ ००३७७१३ नम्वरको मोटरसाइकलले दुई जना पैदलयात्रीलाई ठक्कर दिएपछि चालकले मोटरसाइकल लिएर भाग्न खोजेका थिए । त्यसक्रममा सडक छेउको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालक बरहथवा नगरपालिका १० शान्तिटोल बस्ने अच्छेलाल सिंह दनुवारका छोरा ३५ वर्षीय मुकेश सिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक (इन्सपेक्टर) जनकराज ढुंगानाका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका मुकेशलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लागिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईश्वरपुर नगरपालिका ९ का ७० वर्षीय महेन्द्र साह र सोही ठाउँ बस्ने सरोज कुमार महतोकी छोरी वर्ष १५ की रन्जना कुमारी महतो घाईते भएका छन् ।
निधार र नाकामा चोट लागेर गम्भीर घाईते महेन्द्र साहलाई ईश्वरपुरमा सामान्य उपचार गरी थप उपचारका लागि जनकपुर रेफर गरिएको छ भने सामान्य घाईते रन्जना कुमारीको ईश्वरपुरमै उपचार चलिरहेको प्रहरीले जनायो ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलले सुरुमा रन्जना कुमारीलाई ठक्कर दिएका थिए। त्यसपछि चालकले मोटरसाइकल लिएर भाग्न खोज्दा ७० वर्षीय वृद्ध महेन्द्र साहलाई ठक्कर दिएर बिजुलीको पाेलमा गएर ठोक्किएका थिए ।