लालबन्दी,पुस-११,सर्लाहीमा छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी दुईजनाकाे ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा शनिबार राती भएको सवारी दुर्घटनामा एक जनाको र नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत शनिबार साँझ हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट अर्की एक महिलाको ज्यान गएको हाे ।
बाँके जंगलमा भएको दुर्घटनामा अर्का एक जना घाईते भएका छन् । गएराती १० बजेतिर घारिबथान जाने बाँके चौक नजिकै बर्दिवासबाट लालबन्दीतर्फ आउँदै गरेको ना ३४ प ७०२१ नं. को मोटरसाइकललाई नम्वर र आकार खुल्न नसकेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुर्खेत जिल्ला घरभई हाल लालबन्दीमा बसेर सेक्यूरिटी गार्डको काम गर्दै आएका अन्दाजी ५६ वर्षका भिम गुरुङको ज्यान गएको ईलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–३ बस्ने ४२ वर्षीय जितन चौधरी घाईते छन् । चौधरीको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।प्रहरीले शनिबार रातीदेखि नै दुर्घटनामा संलग्न सवारीको खोजी तीव्र पारेको छ ।
उता नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत शनिबार साँझ हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा बाटो काट्नेक्रममा साइकलले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाईते लक्ष्मीपुरकी ५५ वर्षीया सैफुल खातुनको उपचारका क्रममा राती प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । म
महिलालाई ठक्कर दिने साइकल चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।