जनकपुर,पुस-१०,कांग्रेसको प्रदेश २ अधिवेशनबाट संस्थापन पक्षले एकलौटी जित निकाल्न सफल भएको छ । पदाधिकारीको मतगणना हुँदा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा संस्थापन पक्षका उम्मेदवार विजयी भएका हुन् ।
सभापतिमा संस्थापन पक्षका कृष्ण यादवले बिमलेन्द्र निधि र शेखर कोइरालाका संयुक्त उम्मेदवार रामसरोज यादवलाई पराजित गरे ।
त्यस्तै उपसभापतिमा संस्थापनका उम्मेदवार वीरेन्द्रप्रसाद सिंहले १०१९ (लाेकप्रिय ) मत प्राप्त गरेर विजयी भए ।उनी प्रदेश सरकारका महिला बालबालिका तथा युवा खेलकुदमन्त्री हुन । अर्का उपसभापतिका उमेदवार चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् । महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ मतसहित पहिलो स्थानमा र वृहस्पति कृष्ण श्रेष्ठ ७८८ मत ल्याएर विजयी भएका छन् । दुबै संस्थापनका हुन् ।
त्यसैगरी सह- महामन्त्री खुलातर्फको दुई पदमा जयनारायण प्रसाद यादव ८७९ मत र परशुराम चौधरी ८२२ मत प्राप्त गरि विजयी भए । महिलातर्फ बिन्दुकुमारी यादव ८८९ मत ल्याएर विजयी भइन् ।
प्रदेश २ को अधिवेशन विवादका कारण केही दिन रोकिएर केन्द्रीय अधिवेशनपछि मात्र भएको हो । प्रदेश कार्यसमिति चयनका लागि जनकपुरमा बिहीबार मतदान भएको थियो ।
पदाधिकारीको मतगणना सकिएको र सदस्यहरुको मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।