जनकपुर,पुस -७,नेपाली कांग्रेस प्रदेश नम्बर दुईको नेतृत्व चयनका लागि जारी प्रथम अधिवेशनमा सर्लाहीका दुई नेता उपसभापतिमा भिड्ने भएका छन् ।
सर्लाका अन्य नेताहरू पनि विभिन्न पदहरुमा भिड्ने भएकन हुन ।

मंगलबार राती प्रकाशित उम्मेद्वारहरुको नामावली अनुसार प्रदेश उपसभापतिमा संस्थापन अर्थात प्रधानमन्त्री एवं केन्द्रीय सभापति शेरबहादुर देउवाको पक्षबाट प्रदेश २ सरकारका महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले उम्मेद्वारी दिएका छन् । सर्लाही क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा निर्वाचित भएका सिंह नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहका भाई समेत हुन् ।
उनीसँगै नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला उपसभापति एवम् हाल महाधिवेशन प्रतिनिधि रहेका विनोद खनालले पनि प्रदेश उपसभातिमा उम्मेद्वारी दिएका छन् । उनी संस्थापन ईतर शेखर कोईराला र विमलेन्द्र निधी पक्षबाट उम्मेद्वार हुन् । दुईजना निर्वाचित हुने उपसभापति पदमा ५ जनाको उम्मेद्वारी परेको छ ।
त्यस्तै महामन्त्रीमा सर्लाही क्षेत्र नम्बर ३ का नेता हरेस महतोले उम्मेद्वारी दिएका छन् । उनले शेखर–निधी प्यानलबाट उम्मेद्वारी दिएका हुन् । दुईजना निर्वाचित हुने महामन्त्री पदमा ५ जनाको उम्मेद्वारी परेको छ ।

त्यसैगरी खुला प्रदेश सदस्यतर्फ लालबन्दी नगरपालिका– १ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, रामबाबु साह, ईश्वरपुर निवासी पत्रकार प्रकाश मैनाली, धर्मनाथ राय लगायत अन्यले समेत उम्मेद्वारी दिएका छन् । १४ जना निर्वाचित हुने खुला प्रदेश सदस्यका लागि ४९ जनाको उम्मेद्वारी परेको छ ।

त्यस्तै प्रदेश सदस्य खसआर्यतर्फ नेपाली कांग्रेस सर्लाहीको हरिवन निवासी युवा नेता निरमुनी मैनालीले उम्मेद्वारी दिएका छन् भने प्रदेश सदस्य दलित खुला तर्फ ईश्वरपुर नगरपालिका कालिञ्जोर निवासी मदन विश्वकर्माले उम्मेद्वारी दिएका छन् । १ जना निर्वाचित हुने खसआर्य तर्फको प्रदेश सदस्य पदमा ४ जनाको उम्मेद्वारी परेको छ भने ३ जना निर्वाचित हुने प्रदेश सदस्य दलित खुलामा १० जनाको उम्मेद्वारी परेको छ । दुईवटै टिमबाट सर्लाहीका १६ जना उम्मेद्वार रहेकाे बताईएकाे छ । अधिवेशनमा जम्मा १८० जनाले उम्मेद्वारी दिएका छन् ।