लालबन्दी,पुस  – ५,पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा

ट्रकको ठक्करबाट एक जना विद्यार्थीको ज्यान गएको छ ।लालबन्दी  नगरपालिका–९, बस्तीपुरमा सोमबार बिहान दुर्घटनामा परी सर्लाहीकै चन्द्रनगर गाउँपालिका–१, रतनपुर घरभइ लालबन्दीमा कोठा भाडा लिएर जनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विपद रायका छोरा १७ वर्षीय दीपेन्द्र कुमार यादवको ज्यान गएको हो ।

दीपेन्द्रलाई सोमबार बिहान टिउसन पढ्न जाँदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ७९९० नम्वरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
दीपेन्द्रलाई सडक पार गर्न खोज्दा ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाईते भएका दीपेन्द्रलाई तत्कालै उपचारका लागि नमूना अस्पताल हरिवन पुर्याएपनि चिकित्कसले मृत घोषणा गरेका लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् ।मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

आफ्ना विद्यार्थीको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि जनज्योति माध्यमिक विद्यालयले सोमबार ( आज)  एक दिनका लागि  बिदा दिएको छ ।