नक्कली नेपाली रुपैयाँसहित सर्लाही प्रहरीको नियन्त्रणमा रहेका दुई भारतीय नागरिक ।

मलंगवा, पुस—४, नेपाल प्रहरी र शस्त्र प्रहरी बल १० नम्बर गण सर्लाहीको टोलीले १ लाख १५ हजार नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


मलंगवा नगरपालिका वडा नं. ८ गोरखकाली स्थित भन्सार कार्यालय अगाडी चेकप्वाईन्ट बनाई चेकजाँच गर्ने क्रममा नेपाल प्रहरी सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–६ चिलरीका ३७ वर्षीय आशिष भनिने सुरेन्द्र महतो र सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–१ लालबन्दीका ४८ वर्षीय प्रमोद कुमारलाई पक्राउ गरेको हो ।


सर्लाही सदरमुकाम मलंगवातर्फबाट भारतको सोनवर्षा जान थालेको बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकललाई भन्सार कार्यालय अगाडी चेकजाँच गर्दा नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको डिकी र सिटको बीचमा १ सय १५ वटा नेपाली १ हजारको नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट थप भारतिय नोट ४७ हजार ५ सय १० रुपौयाँ बिभिन्न दरका नेपाली नोट १ सय ७० बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली नोटसहित नियन्त्रणमा रहेका दुवैजनासंग थप अनुसन्धान प्रकृया अघि बढाईएको सर्लाही प्रहरी प्रवक्ता प्र.ना.उ.माधब प्रसाद बुढाथोकीले जानकारी दिए ।