लालबन्दी,पुस – २,नेकपा माओवादी केन्द्र प्रदेश २ को नेतृत्व चयनका लागि भोली (शनिवार)सर्लाहीमा बन्दसत्र हुनेभएको छ । पार्टीले आज बिहान लालबन्दीमा पत्रकार सम्मेलन आयोजना गरी भोली लालबन्दी बजारस्थित लालबन्दी पार्टी प्यालेसमा प्रथम प्रदेश सम्मेलनको बन्दसत्र गर्न लागिएको जानकारी दिएको हो ।

प्रदेश सम्मेलनको उद्घाटन सत्र भने मङ्सिर २५ गते प्रदेश राजधानी जनकपुरमा सम्पन्न भएको थियो । केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअल माध्यमबाट सबै प्रदेशहरुको एकैसाथ प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए ।
शनिवार लालबन्दीमा हुने बन्दसत्रले नौ पदाधिकारीसहित २७१ सदस्यीय प्रदेश कमिटी र करिव १२० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिए ।
माओवादी केन्द्रले प्रदेशका केही पालिकामा अझै नेतृत्व टुङ्ग्याउन सकेको छैन् । प्रदेश अध्यक्ष बुढाथोकीले शुक्रवार साँझसम्म सबै पालिकामा नेतृत्व चयनसहित प्रदेश सम्मेलनका लागि प्रतिनिधि चयन भइसक्ने दावी गरे ।
माओवादी नेताहरुले शनिवार हुने बन्दसत्रबाट सकेसम्म सहमतीमै प्रदेश कमिटी चयन गर्ने प्रयास भइरहेको बताएका छन् ।
सहमतीमै प्रदेश कमिटी चयन गर्न नेताहरुबीच शुक्रवार (आज) बिहानैदेखि लालबन्दीमा छलफल चलिरहेको छ । माओवादीको प्रदेश नेतृत्वका लागि अहिलेसम्म उम्मेदवारहरु खुलिसकेका छैनन् ।
माओवादी केन्द्र प्रदेश २ इन्चार्ज भरत साहले अन्तिम समयसम्म पनि सहमतीबाटै नेतृत्व चयन गर्ने प्रयास हुने बताए ।
सहमतीमै प्रदेश कमिटी चयन गर्न नेताहरुबीच शुक्रवार बिहानैदेखि लालबन्दीमा छलफल चलिरहेको छ । शनिवार हुने बन्दसत्रलाई लक्षित गरी माओवादी केन्द्रले लालबन्दी बजारमा स्वागतद्धार निर्माणसँगै बजारैभरी पार्टीको झण्डा फहर्याएको छ ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११, १२ र १३ गते काठमाण्डौंमा हुँदै छ ।