मलंगवा, पुस -१, करिव ६ महिनादेखि वेपत्ता भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीका अजय महराका परिवारको लागि न्याय मागगर्दै बिहिवारी चौंँथो दिनपनि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा धर्ना दिइएको छ ।

बहुजन एकता पार्टी नेपाल जिल्ला समिति सर्लाहीले विगत ४ दिनदेखि अजयको शास देउ की लास देउ भन्दै सीडीओ कार्यालयमा धर्ना दिइरहेको हो । १८ वर्षीय अजयलाई गाउँकै जसोधा देवी र रामविनेश रायले काम गराउन भनी लगेको र त्यसदिनदेखि अजय सम्पर्कमा नरहेको परिवारका सदस्यहरुले बताएका छन् । बहुजन एकता पार्टीले घटनाको अनुसन्धान हुनुपर्ने, अजयलाई बेपत्ता पार्नेहरुमाथि कारवाही हुनुपर्ने, उनको अवस्था के छ ? भनेर सार्वजनिक गर्नुपर्ने लगायतको माग राखेर धर्ना दिइरहेको छ । छोराको लागि न्याय माग्न जाँदा अजयका परिवारलाई प्रहरीले उल्टै हप्कीदप्की गर्ने गरेको बहुजन एकता पार्टीले उल्लेख गरेको छ । आफूहरुको मागमा सुनुवाई नहुन्जेल धर्ना कार्यक्रम जारी रहने बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानले बताए ।