सर्लाही ,मंसिर- २४, ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सर्लाहीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा सर्लाहीमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार मनोज यादव सम्मानित भएका छन् ।
उनलाई सर्लाहीलाई कार्यक्षेत्र बनाई मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले कदरपत्रद्वारा सम्मानित गरेका मानवअधिकारकर्मी मुकेश मिश्रले जानकारी दिए ।
उनि सर्लाहीकाे मलंगवाबाट प्रकाशित हुने राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक हुन् ।
उनलाई सर्लाही जिल्लामा घटित मानवअधिकार हनन सम्बन्धि समाचार लेखेर आम नागरिकहरुलाई सु-सूचित गराए वापत सम्मान गरिएको मानवअधिकारकर्मी मिश्रले जानकारी दिए ।
पत्रकार यादवसँगै जिल्लाका अन्य तीनजना पत्रकारहरु बन्दना झा, राधेश्याम कुशवाहा र संतोष कर्णलाई पनि कदरपत्र द्वारा सम्मानित गरिएको छ।
सोही अवसरमा मानवअधिकारको क्षेत्रमा उदाहरणीय काम गरेका अन्य २१ जना समाजसेवीहरुलाई पनि सम्मानित गरिएको छ ।
“जीवन मर्यादा,समानता र स्वतन्त्रताको अधिकार, दिगो शान्ति र समुद्धिको आधार” भन्ने नाराका साथ शुक्रवार मानवअधिकार रक्षक संजालको आयोजनामा मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया गरी दिवस मनाएको हाे । दिवसको अवसरमा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार ,महिला तथा पुरुषहरु द्वारा दाइजो प्रथा अन्त गरौं ,महिला अधिकारको सम्मान गरौं ,बालअधिकारको संरक्षण गरौं लगायत विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर मलंगवा नगर क्षेत्रको परिक्रमा गरेका थिए ।
उक्त र्याली कार्यक्रम स्थल जिससको कार्यालयबाट सुरु गरी सहिद चौक , बसपार्क , बालमन्दिर चौक, नगरपालिका चौक हुँदै पुनः कार्यक्रम स्थल जिससको कार्यालयमा पुगेर सम्पन्न भएको थियो ।
र्याली पछि जिससको सभाहलमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यतामा “जिल्लामा मानवअधिकारको अवस्था र सरोकारवालाहरुको भुमिका” विषयमा अन्तरक्रिया गरिएको छ ।उक्त अन्तरक्रियामा मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मी र सरोकारवालाहरु बीच जिल्लामा भएका र प्रायः हुने गरेका मानवअधिकार हननका घटना र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बाल कल्याण समाजका रामनगर गाउँ पालिकाका अध्यक्ष सुन्दर श्याम रायले मन्तव्य मार्फत तथा मैथिली गायक संतोष कर्णले गीत मार्फत स्वागत गरेका थिए ।
मलंगवा नपा का प्रमुख निरसल साहको विशिष्ट आतिथ्यता तथा मानवअधिकारकर्मी रजनीकांत झा,इन्सेकका बुधन साह,रम्भा झा, बिनिता कार्की लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमलाई सफल र भब्य बनाउन मानवअधिकारको क्षेत्रमा काम गर्ने जिल्लाका ओरेक, इन्सेक ,आर.आर. पि के,सेभ द चिल्ड्रेन,प्रेरणा परियोजना ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,बाल कल्याण समाज,फ्रिडम फर अल नेपाल ,मलंगवा नगरपालिका लगायतले आर्थिक सहयोग गरेको कार्यक्रमका संचालक मानवअधिकारकर्मी मुकेश मिश्रले जनाकारी दिए ।