एसपी यादव/काठमाडौ, मंसिर— २३, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बिहीवार उखुको नयाँ मूल्य निर्धारण सम्बन्धमा छलफल भएको छ ।
उखुको क्रसिङ सिजन नजिकिएकोले यस वर्षको उखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल उखु उत्पादक महासंघ र सरोकारवाला निकायहरु बिच छलफल भएको हो ।


यसवर्ष उखुको मूल्य यसै साता तोक्ने गरी तयारी भइरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सन्जेलले बताएका छन् । यस वर्ष उखुको मूल्य तोक्ने कार्य विगतको भन्दा वैज्ञानिक र व्यवहारिक हुने उनले बताए । ‘उखुको मूल्य तोक्ने सम्बन्धमा अध्ययन सकिएको छ, यसै साताको शुक्रवारसम्म मूल्य तय हुन्छ,’ प्रवक्ता सञ्जेलले भने ।
यस वर्षको उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जनाका दरले प्रतिनिधि खटाइएको थियो । प्रत्येक जिल्लाबाट कम्तीमा पनि ३०भन्दा बढी अध्ययन नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।
देशैभरबाट प्राप्त ३ सय नमूनालाई कृषि विभागले अध्ययन गरेको र यसैका आधारमा बिहीबार थप छलफल गरिएको मन्त्रालयले जनाएको छ । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।
उखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो । भने यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँ भन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ ।कृषि मन्त्रालयले मूल्य तय गरेर वाणिज्य मन्त्रालयलाई सिफारिस गर्नेछ । वाणिज्य मन्त्रालयले मन्त्रिपरिषद् पठाएपछि मात्र उखुको मूल्य सरकारले घोषणा गर्नेछ ।