मलंगवा,मंसिर –१८,सर्लाहीमा कांग्रेस नेताहरुबीच शुक्रवार अबेरसम्म भएको वार्ता निष्कर्ष बिहिन भएको छ ।

गएराती ९ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा दुवै समूहका नेताहरुबीच वार्ता भएको भएपनि सहमति भने हुन सकेन । शुक्रवार सहमती हुन नसकेकाले आज ( शनिवार) पुनः वार्तामा बस्ने तयारी भइरहेको बताएको छ ।

पार्टीको संस्थापन र संस्थापन ईतर पक्षको विवादले सर्लाहीमा अधिवेशन नै अलपत्र परेको छ । यसअघि शुक्रवार हिजोनै गर्ने तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेन ।

बलरा नगरपालिकाका ४ वटा वडासहित अझै ८/९ वटा वडामै वडा अधिवेशन हुन सकेको छैन् । हिजो दिनभर लालबन्दीस्थित होटल यूनाइटेड ईनमा(डुमडुमे) वार्तामा बसेका नेताहरु कुनै सहमती नभएपछि सदरमुकाम मलंगवा गएका थिए ।

मलंगवामा पनि जिल्ला प्रशासन कार्यालयमा ४ घण्टा बढी वार्तामा बस्दा कुनै निष्कर्ष निस्कन नसकेको कांग्रेसका एक नेताले चियाेचर्चाे खबरलाई बताए । हिजोकाे वार्तामा पहिलो पटक संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायपनि सहभागी थिए । यस्तै, जिल्ला सभापतिको तर्फबाट केन्द्रीय सदस्य जंगिलाल राय र पूर्व जिल्ला सभापतिको तर्फबाट सांसद अमेरश कुमार सिंह समेत वार्तामा सरिक भएका बुझिएको छ ।

दुई गुटको हानाथाप र टकराबले गर्दा पटकपटक कांग्रेस सर्लाही अधिवेशन पछि धकेलिँदा पार्टीका कार्यकर्ता भने निराश भएका छन् । सर्लाही कांग्रेसको अधिवेशन गराउन केन्द्रीय निर्वाचन समितिले ४ पटकसम्म निर्वाचन अधिकृत खटाइसकेको छ ।
उनिहरूले अधिवेशन नहुनुमा दुवै पक्ष दाेषिरहेकाे बताउदै आएका छन् ।