बलरा,मंसिर –१२,सर्लाही क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका वडा नं .-९, अचलगढमा पार्टीकै दुई समूहबीच विवाद हुदा गोली चलेको छ ।
आईतवार दिउँसो अधिवेशन चलिरहेको समयमा काँग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह त्यहाँ पुगेका थिए । सोही बेला काँग्रेस नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहका कार्यकर्ताबीच हात हालाहाल भएपछि मन्त्री सिंहका अङ्गरक्षकले एक राउण्ड हवाई फायर गरेका हुन् ।
विवादका क्रममा आफ्ना अङ्गरक्षक (पीएसो) प्रहरी हवल्दार रामचन्द्र खङ्ग र सहयोगी रामचन्द्र महतो घाईते हुनुभएको मन्त्री सिंहले जानकारी दिए । घाईते दुवै जनाको जिल्ला अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ ।
मन्त्री सिंहले डा. अमरेश कुमार सिंह निकटका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले समिति चयन गर्न नपाएपछि आफू र आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएका छन् । विवादपछि अचलगढमा आइतवारका लागि काँग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।
यस्तै, बलराकै वडा नं. ५ अर्नाहा र वडा नं. ११ छतौनामा पनि विवादकै कारण वडा अविधेशन स्थगित गरिएको छ । वडा नं. २, ३, ४, ६ र ७ मा भने सहमतीमा नेतृत्व चयन भएको छ ।
११ वटा वडा रहेको बलरा नगरपालिकाका बाँकी वडाहरुमा सोमवार मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिने बताइएको छ । सर्लाहीको ४ नम्वर निर्वाचन क्षेत्रमा पर्ने बलरा नगरपालिका सुरक्षाको हिसाबले अति संवेदनशील मानिन्छ ।