लालबन्दी,मंसिर -१२, नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन अन्तर्गत आज (आईतवार) जिल्ला स्थित २०० वटै वडामा वडा तहको अधिवेशन प्रारम्भ भएको छ ।

दुई पक्षको विवादका कारण पटक–पटक सर्दै आएको वडा अधिवेशन आईतबार बिहानैबाट सूरु भएको पार्टीका नेताहरुले बताएका छन् । वडा अधिवेशन गराउन नेपाल शिक्षक संघ सम्बद्ध शिक्षकहरु मतदान अधिकृतको रुपमा गाउँ गाउँमा पुगिसकेको बताईएको छ । ‘केही वडा बाहेक अधिकांश वडामा हिजो दिउँसै मतदान अधिकृत तोकेर सामानहरु समेत दिईसकिएकाे थियो ।

जिल्ला स्थित १५० वटा भन्दा बढी वडामा सर्बसम्मत रुपमा वडा तहको नेतृत्व चयन हुने कांग्रेस नेताहरुले दाबी गरेका छन् । सर्बसम्मत हुन नसकेका वडाहरुमा भने मतदान मार्फत नै नेतृत्वको टुंगो लगाईने छ । वडा अधिवेशनले वडा सभापति सहित वडा कार्यसमिति चयन गर्नेछ भने पालिका नेतृत्व, प्रदेश सभा नेतृत्व, क्षेत्रीय नेतृत्व एवं प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवशेन प्रतिनिधि सहित जिल्ला कार्यसमिति चयन गर्नका लागि हरेक वडाबाट क्रियाशिल सदस्य संख्याका आधारमा कम्तिमा १५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।

वडा अधिवेशनहरुको अवस्थाबारे थप बुझ्न पटक–पटक फोन गर्दा जिल्ला निर्वाचन अधिकृत भरत राउतको भने मोबाईल उठाएनन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाभर वडा अधिवेशन भईरहेको र खबर आएको र अहिलेसम्म कतै वादविवादको कुरा सुन्नमा आएको छैन ।

गत शुक्रबार राती अबेर लालबन्दी स्थित यूनाईटेड होटल ईननमा सम्पन्न दुई पक्षबीचको छलफलले आज (आईतबार) वडा अधिवेशन गर्ने सहमति गरेको थियो । अधिवेशन गराउन केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच सहमति भएपछि आईतबार (आज)बाट सर्लाही कांग्रेसको अधिवेशन प्रकृया अगाडी बढेको हो ।

सहमति अनुसार मंसिर १२ गते आईतबार वडा अधिवेशन गर्ने, प्रदेश नम्बर दुई अर्थात प्रदेश स्तरीय अधिवेशन सरेमा १४ गते मंगलबार पालिका स्तरीय अधिवेशन गर्ने र उक्त अधिवेशन नसरेमा भने सो दिन पालिका स्तरीय अधिवेशन स्थगित गरी प्रदेश सभा स्तरीय अधिवेशन गर्ने, १५ गते बुधबार क्षेत्रीय अधिवेशन गर्ने र १७ गते शुक्रबार जिल्ला अधिवेशन हुनेछ ।