लालबन्दी,मंसिर -९, नेपाली कांग्रेस सर्लाहीकाे क्रियाशील सदस्यताका विषयमा पुनः विवाद सिर्जना भएकाे छ । विवादकै कारण पटकपटक सरेर भाेली ( शुक्रवार ) हुने भनिएकाे वडा अधिवेशन अनिश्चित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले ४ दिनसम्म दुवै समूहका नेताहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा राखेर विवाद समाधान गरी पठाएको भए पनि संस्थापन पक्ष निकट पार्टी सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच क्रियाशील सदस्यताको विषयलाई लिएर बिहीबार पुनः विवाद भएको हो ।
सहमतिमै अधिवेशनका लागि प्रकृया अघि बढेको भएपनि यस अघि पहिलोपटक निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत विनोद कार्कीलाई मेल मार्फत पठाएको क्रियाशीलकाे लिस्ट भन्दा फरक , क्रियाशीलकाे संख्या थपिएको लिस्ट आएपछि सहमत हुन नसकिएको पूर्व जिल्ला सभापति लक्ष्मण राय समुहका नेता एवम् जिल्ला सचिव नवीन अधिकारीले बताए ।
केन्द्रीय नेता कृष्ण प्रसाद सिटौला र रमेश लेखकको हस्ताक्षरबाहेकका क्रियाशील सदस्यहरु नथप्ने सहमती गरेर आएपनि अहिले बिना नम्वर र बिना हस्ताक्षरको क्रियाशील सदस्यहरु थप गरिएको उनकाे आरोप छ । अझै पनि छलफलका माध्यमबाट सहमति गर्न आफुहरू तयार रहेको र जुनसुकै बेला बाेलाए पनि वार्तामा बस्न आफू तयार रहेको सचिव अधिकारीले बताए ।
यता, जिल्ला सभापति नागेन्द्र कुमार रायले भने सबै सहमती भइसकेको अवस्थामा फेरि बखेडा झिकेर सर्लाहीमा अधिवेशन गराउन नदिने षडयन्त्र गरिएको बताएका छन् । उनले कहाँ ? के कती ? क्रियाशील सदस्य थपिए भन्नेबारेमा आफूलाई जानकारी नरहेको बताए ।
यता पछिल्लो पटक अधिवेशन गर्न खटाइएका निर्वाचन अधिकृत भरत राउतले (भोली ) मंसिर १० गते जिल्लाको २० वटा पालिकाका २०० वटै वडामा वडाअधिवेशन गराउन शिक्षकहरूलाई प्रशिक्षणकाे कार्यक्रम भईसकेकाे र केही विवाद देखिएकाले छलफल पछि समस्या समाधान हुने विस्वास व्यक्त गरे । उनलेे अहिले देखिएकाे समस्य समाधान भई पर्सि (शनिवार ) सम्ममा अधिवेशन हुनेमा आफू विस्वस्त रहेकाे चियाेचर्चाे खबरसँग बताए ।
सर्लाहीमा दुई पक्षबिच भई रहेको निरन्तरकाे विवादले कांग्रेसको अधिवेशन अन्यौल परेको छ । यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकर राज पाण्डे दुई पक्षबीचको विवादले गर्दा अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा दिएर फर्किसकेका छन् ।