मलंगवा, कार्तिक  –२९, नेपाली कांग्रेस सर्लाहीकाे जिल्ला अधिवेशन  मंसिर २ गतेबाट हुने भएको छ।

साेमवार (आज )जिल्ला पार्टी कार्यालय मलंगवामा जिल्ला निर्वाचन अधिकृत दिवाकर राज पाण्डेकाे अध्यक्षतामा बसेकाे कांग्रेस नेताहरुकाे सर्वपक्षीय बैठकले विभिन्न निर्णय गरेसंगै  विवाद समाधान भएको हाे ।


विवाद मिलेसँगै जिल्ला अधिवेशनकाे प्रकृया अगाडि बढेकाे छ ।छलफलमा वर्तमान सभापति नागेन्द्रकुमार रायकाे पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रित सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला बालबाफिका एवं युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह, जिल्ला सचिव एवं प्रदेश सांसद् उपेन्द्र प्रसाद कुशवाहा, ३ नम्बर क्षेत्रीय अध्यक्ष पुण्य प्रसाद घिमिरे सहभागी थिए । पूर्व सभापति लक्ष्मण रायकाे पक्षबाट भने जिल्ला सचिब नवीन अधिकारी, पूर्व उपसभापति विनाेद खनाल, महासमिति सदस्य एवं युवा नेता बलराम झा, रविनन्दन चाैधरी र नेपाल शिक्षक संघका पूर्व अध्यक्ष काैशलकिशाेर रायकाे सहभागिता रहेकाे थियाे । छलफलका क्रममा दुवै पक्षबीच विवाद आए सहजिकरणका लागि भने नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद एवं नेपाल पत्रकार महासंघका अध्यक्ष टंकबहादुर क्षेत्री र प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलियाकाे समेत बैठकमा उपस्थिती रहेकाे थियाे ।
बैठकले आगामी मंसिर २ गते वडा अधिवेशन, ५ गते पालिका, प्रदेश सभा अधिवेशन ८, संघिय अधिवेशन १० गते र जिल्ला अधिवेशन मंसिर १२ गते हुने भएकाे छ । त्यस्तै बैठकले अधिवेशनका क्रममा देखिएका विवाद समाधान गर्न निर्वाचन अधिकृत पाण्डेकाे संयाेकत्वमा जिल्ला सचिवद्वय उपेन्द्रप्रसाद कुशवाहा र नवीन अधिकारी एवम् प्रेस युनियन अध्यक्ष कृष्ण थपलिया रहने गरि समिति गठन गरेकाे छ भने निर्वाचन अधिकृतकाे कार्यालय नियमित सञ्चालनका लागि निर्वाचन अधिकृतलाई सहयाेग गर्न दुईजना शिक्षकहरु भाग्यनारायण मिश्र र अवधेश राय रहने निर्णय गरेकाे छ ।

मिश्र लक्ष्मण राय तथा राय नागेन्द्र राय पक्षबाट सिफारिस भएका शिक्षक हुन् ।जिल्ला निर्वाचन अधिकृत पाण्डेले दुवै पक्षकाे सहमतिसँगै अधिवेशन प्रकृया अगाडि बढेकाे भन्दै खुशि प्रकट गरे । त्यस्तै दुवै पक्षकाे विवाद सहजिकरणका लागि निकै मेहेनतका साथ सहयाेग पुर्याउने नेपाल प्रेस युनियन आवद्द संचारकर्मीप्रति समेत पाण्डेले आभार प्रकट गरेका छन् ।

यसअघि खटिएका निर्वाचन अधिकृत विनाेद कार्कीले दुवै पक्षकाे विवादका कारण कात्तिक २६ गते राजिनामा दिएका थिए । उनकाे राजिनामा पश्चात केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई कात्तिक २७ गते सर्लाही निर्वाचन अधिकृतकाे रुपमा खटाएकाे थियाे ।

जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय पार्टी कार्यालयमै राखिएकाे छ । पार्टी कार्यालय भवन जीर्ण भएपनि दुःखसुख कार्यालय सञ्चालन गरिने निर्वाचन अधिकृत पाण्डेले बताए । निर्वाचन अधिकृत पाण्डेका अनुसार आगामी मंसिर १ गते मतदान अधिकृतकाे रुपमा खटिने शिक्षकहरुलाई अधिवेशन अन्तर्गत काम, कर्तव्य र अधिकारका बारेमा अभिमुखिकरण कार्यक्रम हुनेछ ।

यसअघि दुवै पक्षबीच जिल्ला निर्वाचन अधिकृतकाे सचिवालय गठन, निर्वाचन अधिकृतकाे कार्यालय स्थल, मतदान अधिकृत लगायतमा विवाद भएकाे थियाे । सहमतिले जिल्ला सचिवालय गठन नगरी विवाद समाधान समिती बनाएकाे छ ।